जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १५:१८

रोड च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरलाई


काठमाडौं, बैशाख २९

एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको उपाधि नेपाली रेस्लर कमल लामा (नुवाकोटे टाइगर) ले जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको मुख्य स्पर्धा बेल्ट एन्ड रोड च्याम्पियनसिपको बेल्ट जित्ने क्रममा उहाँले ३ विदेशी रेस्लरलाई ढाल्नुभएको थियो ।

चिनियाँ कम्पनी मिडिल किन्डम रेस्लिङ (एमकेडब्लु) को फ्रेन्चाइज प्रतियोगितालाई नेपाल रिङ रेस्लिङ संघले आयोजना गरेको हो । एसिया, अफ्रिका र युरोपलाई सडक तथा रेलमार्गसँग जोड्ने चीनको महत्त्वाकांक्षी परियोजनाको प्रचारका लागि प्रतियोगिता गरिएको बताइएको छ ।
बेल्ट एन्ड रोड च्याम्पियनसिप बेल्टका लागि ४ खेलाडीले दाबेदारिता पेस गरेका थिए ।

नेपालका नुवाकोटे टाइगर, चीनका ब्ल्याक माम्बा, न्युजिल्यान्डका टोमी कम्ब्याट र हङकङका एस सिल्भाबीचको सामूहिक प्रतिस्पर्धामा नुवाकोटेले उपाधि जित्नुभएको हो । नुवाकोटे टाइगर गत संस्करणमा सेमिफाइनलमा पराजित हुनुभएको थियो । गत संस्करणको विजेता ब्ल्याक माम्बा हुन् ।

आगामी वर्ष अर्को देशमा हुने प्रतियोगितामा नुवाकोटे टाइगर साबिक विजेताका रूपमा सहभागी हुने नेपाल रिङ रेस्लिङ संघको अध्यक्ष सुनीता थापाले जानकारी दिनुभयो । वल्र्ड च्याम्पियन बेल्ट भने बेलायतका बिग सामले जित्नुभएको छ । उहाँले नेपालका डेविडलाई पराजित गरी बेल्ट आफ्नो बनाउनुभएको थियो । ‘वान टु वान’ मा भएका दुई भिडन्तमा दक्षिण कोरियाका जेडी ली र अमेरिकाका अंकल मनी विजयी हुनुभयो।

जेडीले चीनका बेम्बो क्रुसरलाई हराउँदा अंकलले क्यानडाका करी ब्वाईलाई पराजित गर्नुभएको थियो । मिक्स्ड ट्याग टिम भिडन्तमा अमेरिकाकी जेरार्ड ज्याङ र चीनका माइकल सूको जोडीले नेपालका साइन र दिलाशाको जोडीलाई पराजित गर्नुभयो । ६ म्यान ट्याग टिम भिडन्तमा नेपालका ठाकु र एक्स हिरो तथा जम्बी ड्रागनको टिमले नेपालका द युभ र चट्टान तथा मंगोलियाका किलर कुब्लाईसम्मिलित टोलीलाई पराजित गर्नुभयो । प्रतियोगितामा नेपालका ८ सहित ८ देशका २० रेस्लरको सहभागिता रहेको थियो ।