जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार २०:५८

नाइमा मोबिलिटी एक्स्पोमा टाटा पन्च र टियागो ईभीको क्रेज, ४ सय भन्दा बढी बुकिङ


काठमाडौं, साउन ३१ । नाइमा मोबिलिटी एक्स्पोमा टाटा मोटर्सका विद्युतीय गाडीहरू प्रति ग्राहकको उच्च आकर्षण देखिएको छ । एक्स्पो अवधिभर टाटाका दुई चर्चित ईभी मोडलहरू पन्च ईभी र टियागो ईभीको कुल बुकिङ ४ सय नाघेको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार मेलामा सहभागी अवलोकनकर्ताहरू माझ यी दुवै मोडलले निकै राम्रो प्रतिक्रिया पाएका छन् । कम्पनीले दिएको जानकारी अनुसार, कुल बुकिङ संख्यामा टियागो ईभीको तुलनामा पन्च ईभीको हिस्सा बढी रहेको छ ।

नेपाली बजारमा भर्खरै सार्वजनिक भएको टाटा पन्च ईभीले आफ्नो आधुनिक डिजाइन, परिष्कृत फिचर्स र नेपाली सडक सुहाउँदो ग्राउन्ड क्लियरेन्सका कारण धेरैको ध्यान खिचेको छ । नेपालको विद्युतीय कार बजारमा स्थापित भइसकेको टियागो ईभीले पनि आफ्नो लोकप्रियतालाई कायमै राखेको छ ।

सिप्रदी ट्रेडिङले नाइमा एक्स्पोलाई लक्षित गरी विशेष अफर, आकर्षक फाइनान्स सुविधा र तत्कालै डेलिभरी दिने व्यवस्था गरेका कारण पनि बुकिङ उत्साहजनक देखिएको बताइएको छ ।

टाटा मोटर्सले नेपालमा विद्युतीय गाडीको पूर्वाधार (चार्जिङ स्टेशन र सर्भिसिङ) मा समेत ठूलो लगानी गरेकाले ग्राहकहरूको विश्वास टाटा ब्रान्डप्रति बढेको छ ।