काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशभरका मेनपावर कम्पनीका कार्यालय बन्द गर्ने घोषणा गरेको छ।
संघले यसअघि नै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकेको थियो। अब जारी भइसकेको श्रम स्वीकृतिअनुसार श्रमिकलाई उडानका लागि दिइएको समयसीमासमेत समाप्त भएकाले वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम रोक्ने निर्णय गरिएको संघले जनाएको छ।
संघका महासचिव हीराबहादुर डाँगीले विज्ञप्ति जारी गर्दै सोमबारदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभएको छ ।
संघले यो निर्णय व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको जनाएको छ।
सरकार तथा सम्बन्धित निकायसँग संवाद, समन्वय र वार्ताका ढोका खुला राखिएको संघको भनाइ छ। तर, आफ्ना मागको सम्बोधन र कार्यान्वयन नभएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने अडान संघले लिएको छ।
मेनपावर व्यवसायीको आन्दोलनका कारण नयाँ श्रम स्वीकृति, भिसा प्रक्रियादेखि वैदेशिक रोजगारीका लागि श्रमिकको उडानसम्मका काम प्रभावित हुने भएका छन्।













प्रतिक्रिया दिनुहोस्