काठमाडौं, भदौ १ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने भएको छ।
सङ्घका अनुसार म्यानपावर कार्यालय मात्र नभई वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प हुनेछ। यससँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट, रिक्रुटिङ प्रक्रिया तथा पूर्वनिर्धारित श्रमिकका उडानसमेत रोकिनेछन्।
सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा सकिएसँगै आजदेखि पूर्ण रूपमा कामकारबाही बन्द गर्न लागिएको सङ्घले जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकको उडानका लागि आइतबार राति १२ बजेसम्मको समय दिइएको थियो। उक्त समयपछि वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण सेवा बन्द हुने उहाँले बताउनुभयो।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रिस्तरमा समेत प्रभावकारी वार्ता नभएको भन्दै व्यवसायीहरूले सरकारको ठोस निर्णय नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलन व्यवसायीको पेसागत अस्तित्व, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।
सङ्घले आफ्ना मागको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ। वार्ताका लागि भने ढोका खुला राखिएको सङ्घले स्पष्ट पारेको छ।
त्यस्तै, सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिइएको छ। निर्णय अवज्ञा गर्ने संस्थालाई सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गर्नुका साथै कारबाही अघि बढाउने चेतावनी दिइएको छ।














प्रतिक्रिया दिनुहोस्