जनता टाइम्स

१ भाद्र २०८३, सोमबार ०८:३२

कोशीटप्पुको निगुरो काठमाडौंमा, स्थानीयलाई आम्दानीको स्रोत


सुनसरी, भदौ १ । सुनसरीको कोशीटप्पु क्षेत्रबाट सङ्कलन गरिएको निगुरो काठमाडौंको कालीमाटी बजारसम्म पुग्न थालेको छ। निगुरो बिक्री स्थानीयको आम्दानीको स्रोत बनेको छ।

कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयले दैनिक कोशीटप्पु क्षेत्रमा गएर निगुरो सङ्कलन गरी व्यापारीलाई बिक्री गर्ने गरेका छन्। उनीहरूले निगुरो बिक्रीबाट दैनिक एक हजारदेखि तीन हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

स्थानीयका अनुसार बिहानै कोशीटप्पु पुगेर निगुरो सङ्कलन गर्ने र ल्याएर मुठा पार्ने, केलाउने तथा व्यापारीलाई बिक्री गर्ने गरिएको छ। निगुरोको मौसममा करिब पाँचदेखि छ महिनासम्म यसको व्यापार हुने गरेको छ।

स्थानीय व्यापारीले सङ्कलित निगुरो एकमुष्ट खरिद गरी काठमाडौं पठाउने गरेका छन्। व्यापारीका अनुसार भन्टाबारीबाट मात्रै मासिक १२ लाख रुपैयाँभन्दा बढीको निगुरो कालीमाटी बजार पुग्ने गरेको छ।

स्थानीयस्तरमा प्रतिमुठा करिब १० रुपैयाँमा खरिद गरिएको निगुरो काठमाडौंमा १८ देखि २० रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यापारीहरूले बताएका छन्।

भन्टाबारीमा निगुरोको मौसममा सडकछेउ छुट्टै व्यापार हुने भएकाले यो क्षेत्र ‘निगुरो हाट’का रूपमा समेत चिनिन थालेको स्थानीयको भनाइ छ।