जनता टाइम्स

१ भाद्र २०८३, सोमबार ०८:३४

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा, ६ टोलीसँग भिड्दै


काठमाडौं, भदौ १ । अस्ट्रेलियामा हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि नेपाल ‘ए’ टोली मंगलबार अस्ट्रेलिया प्रस्थान गर्ने भएको छ। अनिलकुमार साहको कप्तानीमा रहेको टोलीमा युवा तथा अनुभवी खेलाडीको मिश्रण छ।

नेपाल ‘ए’ ले अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई पर्फर्मेन्स, २४ मा होबार्ट हरिकेन्स, २६ मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ मा हैदराबाद किङ्समेन एकेडेमी र २९ अगस्टमा भिक्टोरिया सीए–११ सँग प्रतिस्पर्धा गर्नेछ।

मुख्य प्रशिक्षक राजु बस्न्यातले अस्ट्रेलियाको पिच र वातावरणमा घुलमिल हुनु चुनौतीपूर्ण भए पनि टोलीले सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्। कप्तान साहले भ्रमणलाई खेलाडीका लागि महत्वपूर्ण अनुभव र अवसरका रूपमा लिएका छन्।

टी–२० सिरिजपछि नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध ५० ओभरका अभ्यास खेलसमेत खेल्नेछ।