रामेछाप, भदौ ३। जंगलमा त्यसै खेर जाने अल्लोलाई आम्दानीको स्रोतमा परिणत गर्दै रामेछापको अति सीमान्तकृत थामी समुदायले गाउँमै रोजगारी र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेको छ। दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवामा सामूहिक लगानीमा सञ्चालित अल्लो प्रशोधन तथा कपडा उद्योगले स्थानीय स्रोत, सीप र श्रमलाई गाउँकै अर्थतन्त्रसँग जोड्दै आएको छ।
शैलुङको जंगलमा प्राकृतिक रूपमा पाइने अल्लोलाई सङ्कलन गरी प्रशोधन गरेर धागो निकाल्ने र त्यसबाट विभिन्न प्रकारका कपडा उत्पादन गर्ने काम स्थानीय थामी समुदायले गर्दै आएको छ। गाउँमै स्थापना भएको उद्योगले रोजगारी सिर्जना गर्नुका साथै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सीप, कला र परम्पराको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।
“जंगलमा त्यसै खेर जाने अल्लोलाई सङ्कलन गरेर उद्योगमा ल्याउँदा गाउँमै आम्दानीको बाटो खुलेको छ,” शैलुङ अल्लो प्रशोधन उद्योगका सदस्य तथा दोरम्बा शैलुङ गाउँपालिका–१ का वडा सदस्य मङ्गले थामीले बताउनुभयो। उहाँका अनुसार उद्योगमा स्थानीय युवायुवतीले तालिम लिएर अल्लो प्रशोधन तथा कपडा बुन्ने काम गर्दै आउनुभएको छ।
“गाउँको जंगल, गाउँकै श्रम र गाउँकै सीपलाई गाउँकै आम्दानीमा बदल्न सकियो भने विकासका लागि ठूलो आधार तयार हुन्छ,”
उद्योगमा हाल दैनिक आठ जना श्रमिकले प्रत्यक्ष रूपमा काम गर्दै आउनुभएको छ। तर अल्लोको लोक्ता निकाल्ने मौसममा भने रोजगारीको अवसर अझ फराकिलो हुने गरेको छ। स्थानीय बासिन्दाले जंगलबाट अल्लो सङ्कलन गरी त्यसबाट पाट निकालेर उद्योगमा बिक्री गर्ने गरेका छन्। यसबाट उद्योगमा प्रत्यक्ष काम गर्ने श्रमिकबाहेक गाउँका धेरै परिवारले पनि आम्दानीको अवसर पाउने गरेका छन्।
स्थानीय कच्चा पदार्थ र हाते मेसिनको प्रयोगबाट उद्योगमा दौरा–सुरुवाल, कोट, टोपी, भोटो, कुर्था, पाइजामा, पटुका, पछ्यौरा, दोसल्ला, कुर्था-सुरुवाल, खादा, गलबन्दीलगायत विभिन्न प्रकारका कपडा उत्पादन हुँदै आएका छन्।
प्राकृतिक र स्थानीय कच्चा पदार्थबाट हातैले तयार गरिने भएकाले अल्लोका कपडा स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन्। बलियो, न्यानो र टिकाउ हुनुका साथै मौलिक नेपाली उत्पादन भएकाले यसको बजारसमेत विस्तार हुँदै गएको छ।
उद्योगमा उत्पादित कपडा रामेछाप र आसपासका जिल्लासहित काठमाडौं तथा पूर्वी नेपालका झापासम्म पुग्ने गरेको छ। स्वदेशमै उत्पादित हाते कपडाप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उद्योग सञ्चालकहरूको भनाइ छ।

“विदेशबाट समेत अल्लोका कपडाको माग आउने गरेको छ, तर मागअनुसार उत्पादन गरेर पुर्याउन सकेका छैनौँ,” मङ्गले थामीले भन्नुभयो, “सरकार र अन्य निकायबाट आवश्यक सहयोग पाए उत्पादन बढाएर ठूलो बजारमा पुग्न सकिने सम्भावना छ।”
उद्योग स्थापनाका लागि रामेछापका कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएको समयमा केही सरकारी बजेटसमेत प्राप्त भएको थियो। त्यसपछि स्थानीय बासिन्दाले उद्योगलाई सामुदायिक उद्योगका रूपमा अघि बढाउँदै थप रकम शेयरका रूपमा लगानी गरेका हुन्। अहिले स्थानीयकै सहभागिता र लगानीमा उद्योग सञ्चालन भइरहेको छ।
उद्योग सञ्चालकहरू सरकारी सहयोग थप प्राप्त भएमा उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग, बजार विस्तार तथा स्थानीय युवालाई थप रोजगारी दिने योजनामा हुनुहुन्छ। “गाउँको जंगल, गाउँकै श्रम र गाउँकै सीपलाई गाउँकै आम्दानीमा बदल्न सकियो भने विकासका लागि ठूलो आधार तयार हुन्छ,” स्थानीयको भनाइ छ।
थामी समुदायले सञ्चालन गरेको अल्लो उद्योग केवल कपडा उत्पादन गर्ने थलो मात्र नभई स्थानीय स्रोत र साधनको सदुपयोगमार्फत ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिने सम्भावनाको उदाहरण बनेको छ। यस्ता उद्योगलाई व्यवस्थित रूपमा प्रवर्धन गर्न सके रोजगारीका लागि युवालाई विदेशिनुपर्ने बाध्यता केही हदसम्म कम गर्न सकिने देखिन्छ।

स्थानीय कच्चा पदार्थ गाउँमै प्रशोधन र उत्पादनमा प्रयोग हुँदा त्यसको मूल्य अभिवृद्धि पनि गाउँमै हुने भएकाले स्थानीय अर्थतन्त्र चलायमान बन्न सक्छ। साथै विदेशमा जाने श्रम र पुँजीको केही हिस्सा गाउँमै रोक्न तथा बाहिरबाट गाउँतर्फ आयआर्जनका अवसर सिर्जना गर्न यस्ता उद्योग प्रभावकारी माध्यम बन्न सक्छन्।
यसका लागि संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारले स्थानीय स्रोतमा आधारित साना तथा सामुदायिक उद्योगलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। आवश्यक तालिम, प्रविधि, सहुलियतपूर्ण ऋण, बजार व्यवस्थापन र बजारीकरणमा सहयोग गर्न सके शैलुङको अल्लो उद्योगजस्ता प्रयासले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सक्ने सम्भावना छ।
अल्लोको कथा केवल कपडाको कथा होइन-यो जंगलमा खेर जाने स्रोतलाई रोजगारीमा, मौलिक सीपलाई उद्यममा र गाउँलाई आत्मनिर्भरताको यात्रामा जोड्ने प्रेरणादायी कथा हो।














प्रतिक्रिया दिनुहोस्