जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १८:०४

बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ ४ सम्म दाबी पेस गर्न आह्वान


मकवानपुर, भदौ १ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको छ।

प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो।

यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार नै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको हो।

गत साउन ६ गते नेकपा (एमाले) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच बहुमत जुटाउने प्रयास भए पनि आवश्यक समर्थन सुनिश्चित हुन नसकेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो।

प्रदेश प्रमुख देवकोटाले गर्नुभएको आह्वानअनुसार अब प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ। निर्धारित समयभित्र पेस हुने दाबीका आधारमा प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।