जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ०८:०३

समुद्रको सतह बढेपछि नाइजेरियाको तटीय बस्ती डुब्ने जोखिममा


काठमाडौं, भदौ २ । समुद्रको सतह बढ्दै गएपछि दक्षिणी नाइजेरियाको आयटोरो तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ ।

एट्लान्टिक महासागरको किनारमा रहेको आयटोरामा हरेक वर्ष समुद्रको तट साँघुरिँदै गएको छ । समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन् ।

करिब १० हजार मानिसको बसोवास रहेको आयटोरो सन् १९४७ मा स्थापना भएको हो । तर सन् २००० को दशकदेखि यहाँ तटीय क्षयीकरण तीव्र बनेको छ । इलाजे जिल्लाका अन्य १९ समुदायसमेत यसबाट प्रभावित भएका छन् ।

नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोराको तटरेखा प्रत्येक वर्ष औसत १५ मिटर पछाडि सरेको छ ।

सन् २०२४ मा प्रकाशित एक अध्ययनअनुसार पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह हरेक वर्ष करिब ३.९ मिलिमिटरले बढिरहेको छ । यो वृद्धि विश्वव्यापी औसतभन्दा १०.५ प्रतिशत बढी हो ।

आयटोराका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीका अनुसार समुद्रले बस्तीका धेरै घर तथा संरचना बगाइसकेको छ । करिब १४ वर्षअघि खिचिएको तस्बिर देखाउँदै उहाँले त्यसबेला रहेका धेरै भवन अहिले नरहेको बताउनुभयो ।

उहाँका अनुसार दरबारमा पहिले करिब १०० कोठा थिए । अहिले करिब एक दर्जन कोठा मात्र बाँकी छन् । समुद्र नजिकिँदै गएपछि राति छाल पर्खालमा ठोक्किएको आवाजसमेत सुनिने गरेको उहाँले बताउनुभयो ।

गत अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढ्दा दरबारका बासिन्दा एक सातासम्म घरभित्रै थुनिनुपरेको थियो । केही परिवार तीन पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन् ।

समुद्री पानीको अतिक्रमणले बस्तीको स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत गम्भीर असर पारेको छ । स्थानीय एकमात्र स्वास्थ्य केन्द्रमा समेत पानी पस्ने गरेको छ । खानेपानीमा समुद्री पानी मिसिँदा टाइफाइड र झाडापखालाजस्ता पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यस्तै, विद्यालयहरू पनि पटक–पटक स्थानान्तरण गर्नुपरेको स्थानीय शिक्षकहरूले बताएका छन् । यसले बालबालिकाको पढाइसँगै उनीहरूको मानसिक स्वास्थ्यमा समेत असर परेको जनाइएको छ ।

लागोस विश्वविद्यालयका अनुसन्धानकर्ता ओलुवासेगुन बाबातुन्डे एसानले तीव्र सहरीकरणका कारण बाढीका मैदान, दलदल तथा तटीय क्षेत्र मानव बसोवास र औद्योगिक गतिविधिका लागि प्रयोग भइरहेकाले समस्या थपिएको बताउनुभएको छ ।

उहाँले तटीय क्षेत्रमा कडा नियमनसँगै म्यानग्रोभ र नरिवलका रूख रोपेर प्राकृतिक अवरोध निर्माण गर्न सुझाव दिनुभएको छ ।

जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जाँदा आयटोरोजस्ता नाइजेरियाली तटीय बस्तीमा घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनसँगै बस्तीको अस्तित्वमै संकट गहिरिँदै गएको छ ।