जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ०८:५१

काठमाडौं उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री


काठमाडौं, भदौ २। काठमाडौं उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्रीवितरण भएको छ ।

नेपाल आयल निगमका अनुसार सोमबार मात्रै उपत्यकामा ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्रीवितरण भएको हो । उपत्यकाबाहेक अन्य जिल्लामा समेत ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्रीवितरण भएको हो । पछिल्ला दिनको तुलनामा सोमबार ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभाव क्रमशः सहज हुँदै गएको छ ।

आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव अझै कम हुँदै जाने निगमले अपेक्षा गरेको छ ।