जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १५:३८

सभामुखको त्यो निर्देशनले बिच्किइन सांसद आसिका, झोक्किएर हिँडिन्


काठमाडौं, भदौ २ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङ सभामुखसुँगै मुखामुख गरेर संसदबाटै हिडनुभएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै रास्वपा सांसद तामाङ सभामुख डीपी अर्यालसँग रिस पोख्दै मंगलवार प्रतिनिधिसभा बैठक नै छाडेर हिँडनुभएको हो ।

पराष्ट्रमन्त्रीले जवाफ दिँदा दिँदै सांसद तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने अडान राख्नुभएको थियो तर सभामुख अर्यालले बोल्न समय दिनुभएन । सभामुखले तामाङलाई मान्नुभयो, माननीय सदस्य, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’

सभामुखको निर्देशनलाई सांसद तामाङले अबज्ञा गर्दै आफूले बोल्न पाउनुपर्ने अडान राखिरहनुभयो । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभयो । सभामुख अर्यालको सो निर्देशनपछि तामाङ बिच्किएर रिसाउँदै थपक्क झोला टिपेर राताराता आँखा पारेर बैठक छाडेर हिँडनुभयो ।

सांसद तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा सरकारको जवाफ माग्नुभएको थियो । सो बिषयमा सोमवारको बैठकमा सभामुखले रुलिङ गरेपछि मन्त्री खनालले आज जवाफ दिनुभएको हो । तर उहाँले मन्त्री खनालको जवाफमा चित्त बुझेन भन्दै आपत्ति जनाउनु भएको हो ।