काठमाडौं, भदौ २। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले जेएन थपलियालाई संसदीय दलको नेतामै कायम राख्दै किरण थापालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले दलका नेता थपलियाले नै प्रदेश सांसद थापालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो।
बैठकले बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन तथा समर्थन गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ। प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको भदौ ४ गतेको समय सीमाभित्र एमालेले सरकार गठनको दाबी पेस गर्ने निर्णय गरेको छ।
यसअघि थपलियालाई संसदीय दलको नेताबाट हटाउन एमालेका १६ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको थियो। गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा थपलिया ढलेपछि पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा टिप्पणीसमेत भएको थियो।
त्यसपछि उत्पन्न विवाद समाधानका लागि मंगलबार एमाले बागमती प्रदेश इन्चार्ज बस्नेत सहितका नेताहरूबीच सहमतिको प्रयास भएको थियो। सोही क्रममा बसेको संसदीय दलको बैठकले थपलियालाई दलको नेताका रूपमा निरन्तरता दिँदै मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सार्ने निर्णय गरेको हो।

बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, राजधानी प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, राजधानी अध्यक्ष नारायण सिलवाललगायतका नेता सहभागी थिए।
एमाले बागमती प्रदेश संसदीय दलको निर्णयअनुसार अब भदौ ४ गतेभित्र सरकार गठनका लागि दाबी पेस गर्ने तयारी अघि बढाइनेछ। एमालेको नेतृत्वमा नेकपा र एमाले बीच सरकार बनाउने सहमति यस अघि नै भइसकेको छ । राप्रपा वा नेमकिपा समेतको समर्थन लिएर सरकार बनाउने तयारी एमालेले गरिरहेको छ ।














प्रतिक्रिया दिनुहोस्