जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १८:०५

वाग्मतीकाे मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्दै एमालेले बनायो वार्ता समिति


काठमाडौं, भदौ २। नेकपा एमालेले भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री किरण थापालाई वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अघि सार्दै सरकार गठनका लागि बहुमत जुटाउन वार्ता समिति गठन गरेको छ।

एमालेले नेकपासँग सत्ता गठबन्धन गरेर वाग्मती प्रदेश सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको छ। तर सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याउन साना दलसँग समेत सहकार्य गर्नुपर्ने भएपछि एमालेले अन्य दलसँग वार्ता गर्न समिति बनाएको हो।

एमाले प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले जगन्नाथ थपलियालाई संसदीय दलको नेतामा निरन्तरता दिँदै थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो। त्यसलगत्तै थापाकै संयोजकत्वमा अन्य दलसँग सरकार गठनका विषयमा वार्ता गर्न समिति गठन गरिएको हो। समितिमा थापासहित भरत थापा, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा सदस्य हुनुहुन्छ ।

१०४ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।