जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १८:३६

धार्मिक पर्यटन र पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छ : चन्द्र ढकाल


बागलुङ, भदाै २ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँठाउँमै रोजगारीका अवसरहरू सिर्जना हुने बताउनुभएको छ।

बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै ढकालले सो धारणा व्यक्त गर्नुभएको हो।

ढकालले बाइसे-चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको प्रचुर सम्भावना रहेको औँल्याउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा बाह्य पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, ´मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थान लगायतका पर्यटकीय स्थलहरूमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ।´

पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा अड्याउनका लागि गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे जस्ता पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उहाँले बताउनुभयो। साथै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय स्तरबाट सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक नतिजा निकाल्न सकिने धारणा उहाँले राख्नुभयो।

नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासङ्घको ढोरपाटन बैठकको निर्णयबमोजिम १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले पर्यटन, जलविद्युत्, उत्पादन र प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन कम्पनीले काम सुरु गरिसकेको बताउनुभयो।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।