काठमाडौँ, भदौ २ । सहकारी तथा लघुवित्तपीडितहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग दुःख–पीडा सुनिदिन आग्रह गर्नुभएको छ।
नागरिक बचाऔँ महाअभियानको नेतृत्वमा सहकारी तथा लघुवित्तपीडितहरू पाँच दिनदेखि पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा बस्नुभएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफूहरूको माग बेवास्ता गरेको भन्दै पीडितहरूले धर्नास्थलबाटै प्लेकार्डमार्फत संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको ध्यानाकर्षण गराउनुभएको हो।
धर्नास्थलमा ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्रसंघले देखोस् हाम्रो पीडा’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको छ।
पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाउनुभएको थियो।
ज्ञापनपत्र बुझाएपछि उहाँहरूले आयोगको कार्यालयबाहिर धर्ना सुरु गर्नुभएको हो। समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने पीडितहरूले बताएका छन्।














प्रतिक्रिया दिनुहोस्