काठमाडौं, भदौ ३ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ तथा पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७० हजार ४४१ पुगेको छ । गत आर्थिक वर्षको साउनमा यस्तो संख्या ६८ हजार ११० थियो ।
यस वर्ष साउनमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने महिलाको संख्या पनि बढेको छ । गत वर्ष साउनमा ९ हजार १६२ महिलाले श्रमस्वीकृति लिएका थिए भने यस वर्षको सोही अवधिमा ९ हजार ९६९ महिला वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका अनुसार पछिल्लो समय विभिन्न श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग बढेकाले श्रमस्वीकृति लिनेको संख्या बढेको हो ।
स्वदेशमा रोजगारीका अवसर सीमित हुँदै जाँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स पनि निरन्तर बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक रेमिट्यान्स आप्रवाह २२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।














प्रतिक्रिया दिनुहोस्