जनता टाइम्स

३ भाद्र २०८३, बुधबार ०९:५६

होर्मुज जलडमरूमध्यलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै ट्रम्पले सार्वजनिक गरे नक्सा


काठमाडौं, भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच रहेको स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य)लाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै नक्सा सार्वजनिक गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत होर्मुज जलडमरूमध्यलाई घेरेर तयार पारिएको नक्सा सार्वजनिक गरेका हुन्। नक्साको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको छ।

यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि होर्मुज जलडमरूमध्यलाई अमेरिकाको भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए। इरानले भने ट्रम्पको दाबी अस्वीकार गर्दै जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम रहेको बताउँदै आएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता नगरेसम्म तथा लेबनान र गाजालगायत क्षेत्रमा युद्धविरामका लागि सहमत नभएसम्म होर्मुज बन्द रहने चेतावनी दिएका छन्।

होर्मुजमाथि कसको नियन्त्रण ?

अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमाथि नियन्त्रणलाई लिएर जारी संघर्ष इरान युद्धको महत्वपूर्ण केन्द्र बनेको छ। पछिल्लो समय इरानले जलडमरूमध्यको ठूलो हिस्सामाथिको नियन्त्रण गुमाउँदै गएको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले गरेको छ।

जहाजका ट्रान्सपोन्डर तथा स्याटेलाइट तथ्यांक विश्लेषण गर्ने कम्पनी केप्लरका अनुसार पछिल्ला दुई सातामा होर्मुजबाट भएको जहाज आवागमनमध्ये ८० प्रतिशतभन्दा बढी ओमानतर्फको सामुद्रिक मार्गबाट भएको छ। उक्त मार्ग संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय सामुद्रिक मार्ग हो।

केप्लरका कच्चा तेल विश्लेषण प्रमुख होमायुन फलाक्शाहीका अनुसार पछिल्लो अवस्थाले इरानले होर्मुजमाथिको नियन्त्रण कम्तीमा आंशिक रूपमा गुमाएको देखाउँछ।

एक महिनाअघि ओमानतर्फको मार्गबाट व्यावसायिक जहाजको आवागमन नगण्य रहेकामा अहिले उक्त मार्ग प्रमुख विकल्प बनेको केप्लरले जनाएको छ। इरानले प्राथमिकता दिएको मार्गमा जहाजको आवागमन घटेपछि उसले होर्मुज हुँदै जाने जहाजबाट शुल्क उठाउने अवसरसमेत गुमाएको बताइएको छ।

अमेरिकी दाबीमाथि प्रश्न

ट्रम्पले सोमबार अमेरिकाले होर्मुज जलडमरूमध्यमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका थिए। तर इरानले अझै पनि केही जहाजमाथि आक्रमण गरिरहेको र तेलको आवागमन युद्धअघिको तुलनामा निकै कम रहेकाले अमेरिकी नियन्त्रणसम्बन्धी दाबीमाथि प्रश्न उठेको छ।

विश्लेषकहरूका अनुसार हाल होर्मुज जलडमरूमध्यमा न त इरानको पूर्ण नियन्त्रण छ, न त अमेरिकाको। दुवै पक्षले आफ्नो प्रभाव बलियो रहेको दाबी गरे पनि जलमार्गको वास्तविक नियन्त्रण परिस्थिति र समुद्री गतिविधिअनुसार परिवर्तन भइरहेको देखिन्छ।

यसैबीच, ओमान र इरानले अमेरिकी सहभागिताबिना होर्मुज जलडमरूमध्यमा स्वतन्त्र सामुद्रिक आवागमन पुनःस्थापित गर्ने विषयमा वार्ता गरिरहेका छन्। उक्त वार्ताले होर्मुज हुँदै हुने तेल ढुवानी र जलमार्गमाथिको नियन्त्रणमा कस्तो प्रभाव पार्छ भन्ने भने अझै स्पष्ट भएको छैन।