काठमाडौं, भदौ ३ । भारतको कोलकातास्थित एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बुधबार बिहान करिब २ बजे आगलागी भएको हो । अधिकांश मानिस सुतिरहेका बेला आगलागी भएपछि होटलमा ठूलो भागदौड मच्चिएको थियो ।
प्रारम्भिक विवरणअनुसार आगलागीमा मृत्यु भएका ९ जना बंगलादेशी नागरिक हुन् । उनीहरू उपचारका लागि कोलकाता आएको बताइएको छ ।
आगो तीव्र रूपमा फैलिएपछि होटलमा बाक्लो धुवाँ भरिएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी तथा दमकलका कैयौँ टोली घटनास्थल पुगेका थिए । बाक्लो धुवाँका कारण उद्धार तथा आगो नियन्त्रणमा कठिनाइ भएको थियो ।
लामो प्रयासपछि दमकल टोलीले आगो नियन्त्रणमा लिएको छ । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले फरेन्सिक टोलीको सहयोगमा घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
यसअघि सोमबार पनि पश्चिम बंगालको बीरभूम जिल्लास्थित चारतले होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्