जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १२:१५

एनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


काठमाडौं, भदौ ३ । एनएमबि बैंक लिमिटेडले ४४० मेगावाट क्षमताको कालिकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

कालिकोट जिल्लाको तिलाखोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत ५९.४ अर्ब रुपैयाँ रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी ४४.५५ अर्ब रुपैयाँ रहने छ । यस वित्तीय व्यवस्थापनमा एनएमबि बैंक लि. अगुवा बैंक (Lead Bank) को रुपमा रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहअगुवा बैंक (Co-Lead Banks) रहेका छन भने अन्य बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु सहभागी (Members Banks/Financial Institutions) को रुपमा रहने छन् ।

एस.सी. पावर कम्पनी प्रालिको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उहाँको समूहले गरेको छ । तिला १ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र अनुसार कुल क्षमता ४४० मेगावाट रहेको छ र पीपीएअनुसार आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८७ पुस १५ (३१ डिसेम्बर २०३०) रहेको छ ।

एनएमबि बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत आयोजना जडान क्षमताका हिसाबले अहिलेसम्मको ठुलो आयोजना हो ।

आयोजना निर्माण पश्चात् पहिलो वर्ष करिब ११.४ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । एनएमबि बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ESRM) सम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ ।

साथै, अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना Hydropower Sustainability Alliance (HSA) द्घारा विकसित (Hydroselect Tool) प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो । एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।