जनता टाइम्स

९ पुष २०७६, बुधबार १०:४८

प्रधानमन्त्री ओलीलाई मोहनविक्रमले दिनुभयो धन्यवाद


काठमाडौं, पुष ९

नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । संविधान संशोधनका विषयमा मन्त्रीपरिषद्मा लिएको अडान र निर्णयका विषयमा धन्यवाद दिएको हो ।

मसालका महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको छ । उपप्रधानमन्त्री समेत रहनु भएका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले एक वक्तव्य जारी गरेर राष्ट्रघाती संशोधन नमानेकोमा धन्यवाद दिनुभयो ।

‘‘संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । संविधानमा त्यसरी संशोधन गर्दै जानु पनि पर्दछ । तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका छन् । त्यसैले हामीले उपेन्द्र यादवसँग संविधानमा संशोधन गर्ने जुन सहमति गरिएको थियो, त्यसको विरोध गरेका थियौँ’, विज्ञप्तीमा भनिएको छ ।

सिंहले वक्तव्यमा अगाडि भन्नुभएको छ, ‘‘अहिले संविधानमा संशोधनको त्यो सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएका छन् । थाहा भएअनुसार, त्यसबारे उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसका लागि हामी प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन्छौँ । हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दबाबलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।’