जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार ०७:५०

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु


नैरोबी, भदौ ४ । केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा बुधबार हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ ।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक पाइलटसहित छ जना यात्रु सवार थिए । हेलिकप्टर बिहान ९ बजेर १३ मिनेटमा लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरो क्षेत्रतर्फ जाँदै गर्दा माउन्ट ओलोलोक्वेको दुर्गम क्षेत्रमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको हेलिकप्टर स्थानीय कम्पनीको चार्टर उडानमा प्रयोग भएको बताइएको छ । दुर्घटनापछि खोज तथा उद्धारका लागि हेलिकप्टरसहित केन्या रेडक्रसका आपत्कालीन टोली परिचालन गरिएको थियो । उद्धार टोलीले घटनास्थलमा पुगेर सबै सात जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मृतक अमेरिकी नागरिकहरूको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन । अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी मृतकका परिवारलाई आवश्यक कन्सुलर सहायता उपलब्ध गराइरहेको जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । हेलिकप्टरमा प्राविधिक समस्या आएको थियो वा अन्य कारणले दुर्घटना भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । दुर्घटनाग्रस्त हेलिकप्टर युरोकप्टर ईसी–१३० बी४ मोडलको रहेको बताइएको छ ।