जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार ०७:५६

नेपालगञ्ज–पोखरा नियमित उडान भदौ ३१ देखि पुनः सञ्चालन हुँदै


नेपालगञ्ज, भदौ ४ । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढेपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो ।

भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडान धार्मिक पर्यटनका दृष्टिले समेत महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढी हुनुका कारण सेवा रोकिएको शाहले जानकारी दिनुभयो ।

पछिल्लो समय धार्मिक पर्यटकको आवागमनसँगै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ । उडानका लागि बुकिङसमेत खुला गरिएको छ ।

उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो सेवा पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायत क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्नसमेत सहज हुने उहाँले बताउनुभयो ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।