काठमाडौं, भदौ ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने घोषणा गरेका छन्। अमेरिका र इरानबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत उपलब्ध गराउने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाही भोग्नुपर्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताएका छन्। यद्यपि, उनले भविष्यमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनालाई भने खुला राखेका छन्।
ट्रम्पको पछिल्लो घोषणामा सैन्य कारबाही वा सैन्य शक्तिको प्रयोगबारे कुनै उल्लेख गरिएको छैन। यसअघि इरानमाथि सैन्य आक्रमणको चेतावनी दिँदै आएका ट्रम्पले पछिल्लो पटक भने आर्थिक नाकाबन्दी र रणनीतिक दबाबलाई प्राथमिकता दिएका छन्।
इरानको तेल निर्यातमा थप दबाब सिर्जना गर्न रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुजमा अघि बढाइएको कदमसँगै अमेरिकाले कडा आर्थिक नीति अपनाउने संकेत गरेको छ।
तर, इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने तेस्रो मुलुकमाथि कस्तो प्रकारको कारबाही गरिने हो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।














प्रतिक्रिया दिनुहोस्