काठमाडौं , भदौ ४। रुसले युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा बिहीबार राति गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा २३ जनाभन्दा बढी घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस)का अनुसार आक्रमणमा आवासीय भवन र गोदामलाई निशाना बनाइएको थियो । क्षतिग्रस्त भवनका भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको छ । उद्धार टोलीले भग्नावशेषबाट एक जनालाई जीवितै उद्धार गरेको बीबीसीले जनाएको छ ।
किएभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणमा बाल अस्पतालसमेत क्षतिग्रस्त भएको छ । अस्पतालका आसपास रहेका केही सवारीसाधनमा समेत आगलागी भएको उनले बताएका छन् ।
राजधानीको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सोलोमियान्स्की जिल्लास्थित औद्योगिक केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार भएको क्लित्स्कोले जानकारी दिएका छन् ।
यसैबीच, किएभ क्षेत्रको ब्रोभारी जिल्लामा भएको छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर तकाचेन्कोले बताएका छन् ।
आक्रमणअघि क्षेत्रीय प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थियो । युक्रेनी वायुसेनाले चेतावनी जारी गरेपछि रातभर किएभसहित विभिन्न क्षेत्रमा पटक–पटक क्षेप्यास्त्र आक्रमणको सूचना जारी गरिएको थियो ।
रुसी हवाई आक्रमणका कारण किएभ क्षेत्रमा हजारौँ घर तथा संरचनामा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । क्षतिग्रस्त ऊर्जा संरचना मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ ।
पछिल्ला केही सातादेखि किएभले लगभग हरेक रात रुसी आक्रमणको सामना गर्दै आएको छ । यस क्रममा भएका केही आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिस घाइते भएका छन् ।
यसबीच युक्रेनले पनि रुसमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेको छ । यसै साता रुसमा भएका दुई छुट्टाछुट्टै युक्रेनी आक्रमणमा एक बालकसहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । साढे चार वर्षदेखि जारी युद्धका क्रममा रुसले युक्रेनको करिब पाँचमध्ये एक भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । यसको ठूलो हिस्सा युक्रेनको पूर्वी सीमावर्ती क्षेत्रमा रहेको छ ।














प्रतिक्रिया दिनुहोस्