जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार ११:२२

एमालेको निर्णय गुण्डु, च्यासल र हेटौंडाले गर्छ, अरू कराएर गिजोल्न खोज्दैमा केही हात लाग्दैन : सूर्य थापा


काठमाडौं, भदौ ४। नेकपा एमालेका नेता सूर्य थापाले वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना गर्न खोजिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाउनुभएको छ।

वाग्मती प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्दा संसदीय दलका नेता जगन्नाथ थपलिया प्रस्तावक बनेको उल्लेख गर्दै थापाले पार्टीभित्रको निर्णय प्रक्रियालाई बाहिरबाट प्रभावित पार्ने प्रयास भएको टिप्पणी गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले जगन्नाथ थपलिया अस्पतालमा रहनुभएको अवधिमा समेत उहाँको परिवारका सदस्यलाई प्रयोग गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अदालतमा मुद्दा हाल्नेसम्मका सुझाव दिइएको दाबी गर्नुभएको छ। यद्यपि त्यस्तो प्रयास सफल हुन नसकेको उहाँको भनाइ छ।

थापाले साउन महिनाका पछिल्ला दुई सातामा जगन्नाथ थपलियालाई लिएर विभिन्न किसिमका ‘झुटा र वाहियात’ कथा फैलाइएको बताउनुभयाे। उहाँले गुण्डुमा मध्यराति पार्टी अध्यक्ष ओलीले थपलियालाई हप्काएको, त्यसपछि थपलिया ढलेको र निरु पालले पानी छम्किएर होसमा ल्याएको तथा अध्यक्ष ओलीले थपलियालाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको जस्ता विवरण सार्वजनिक हुनु तथ्यहीन भएको दाबी गर्नुभएको छ।

यस्ता हल्ला फैलाउनेहरू अहिले भने बेपत्ता भएको टिप्पणी गर्दै थापाले एमालेको आन्तरिक निर्णय र संगठनात्मक प्रक्रियालाई नबुझ्दा बाहिरबाट अनेक प्रकारका अनुमान र प्रचार हुने गरेको बताउनुभएको छ।  “एमाले बुझ्न नसक्दा यस्तै हुन्छ,” थापाले भन्नुभएको छ।

उहाँले पार्टीको महाधिवेशनबाट निर्वाचित अध्यक्षले वाग्मती प्रदेशमा छिटो सरकार गठनका लागि नेताहरू र सांसदहरूबीच संयुक्त बैठक गरेर सहजीकरण गरेको दाबी गर्नुभएको छ। तर त्यही प्रक्रियालाई लिएर अध्यक्ष ओलीमाथि आलोचना गर्ने प्रयास भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । 

थापाका अनुसार वाग्मती प्रदेशमा सरकार गठनका लागि दुईवटा दलको मात्र संख्या पर्याप्त छैन। तेस्रो राजनीतिक शक्तिको समर्थन आवश्यक पर्ने भएकाले मुख्यमन्त्री चयन र सरकार गठनको विषयलाई सोही राजनीतिक यथार्थका आधारमा बुझ्नुपर्ने उहाँको भनाइ छ। “जेएन थपलिया र किरण थापा मगर दुवैलाई राम्रोसँग थाहा छ, दुई वटा पार्टीको मात्रै संख्याले वाग्मतीमा मुख्यमन्त्री र सरकार बन्दैन, तेस्रो शक्तिको अनिवार्य साथ लिनैपर्दछ,” उहाँले भन्नुभएको छ।

थापाले जगन्नाथ थपलियालाई उचालेर पार्टी अध्यक्ष ओलीमाथि प्रहार गर्न खोज्नेहरूलाई समेत प्रश्न गर्नुभएको छ। पार्टीभित्रका विषयलाई व्यक्तिविशेषको पक्ष–विपक्षमा विभाजित गरेर हेर्नुभन्दा एमालेको निर्णय प्रक्रिया र संगठनात्मक संरचना बुझ्नुपर्ने उहाँको भनाइ छ।

उहाँले एमालेका निर्णय पार्टीको संस्थागत संरचना र सम्बन्धित तहबाट हुने स्पष्ट पार्दै बाहिरबाट कराएर वा विवाद सिर्जना गरेर पार्टीको निर्णय प्रक्रियालाई प्रभावित पार्न नसकिने दाबी गर्नुभएको छ। “एमालेको निर्णय गुण्डु, च्यासल, हेटौँडा र एमालेले नै गर्छ, अरू कराएर गिजोल्न खोज्दैमा केही हात लाग्नेवाला छैन,” थापाले भन्नुभएको छ।

वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला एमाले नेता थापाको यो अभिव्यक्तिले पार्टीभित्रको निर्णय प्रक्रिया, नेतृत्वप्रतिको विश्वास र सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरणबारे एमालेभित्रको धारणा प्रस्ट पारेको छ।