काठमाडौं, भदौ ४ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज अपराह्न ४:२० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ।
प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशका अनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले माननीय थापा मगरलाई आज अपराह्न ४:०५ बजे बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुहुनेछ। त्यस लगत्तै ४:२० बजे शपथ ग्रहण समारोह आयोजना गरिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहितको दाबी प्रदेश प्रमुखसमक्ष पेस भएको थियो।
प्रदेश प्रमुखको कार्यालयले प्राप्त दाबीका आधारमा थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री नियुक्तिसँगै आजै उहाँले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ।
यसैबीच, पार्टीको निर्णय विपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालगायतका नेतामाथि कारबाहीको तयारी गरिरहेको बताइएको छ। पार्टीको केन्द्रले थापालाई समर्थन नरहेको पत्र समेत प्रदेश प्रमुखलाई पठाएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले संसदीय दलको पत्रलाई मान्यता दिँदै थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागेको हो ।
प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहण समारोहमा सहभागी हुने महानुभावहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।















प्रतिक्रिया दिनुहोस्