हेटौँडा, भदौ ४। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा प्रदेश प्रमुख दिपकप्रसाद देवकाेटाले थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
सरकार गठन प्रक्रियामा राप्रपा सहभागी भएको विषयलाई लिएर पार्टीभित्र विवाद भइरहेका बेला बागमती प्रदेशमा नयाँ सरकार गठन भएको हो। राप्रपा कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको निर्णय विपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्ने निर्णय गरेको छ। बैठकले उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरेको छ।
केन्द्रको निर्देशन विपरीत थापा मगर नेतृत्वको सरकारमा राप्रपाबाट तीन जना मन्त्री सहभागी हुने भएका छन्। नवनियुक्त मन्त्रीहरूको आजै शपथग्रहणको तयारी गरिएको छ।
राप्रपा नेता थापालाई कारबाही गरेकाेमा कमल थापा पक्षले आपत्ति जनाएकाे छ । कुनै छलफल र स्पष्टिकरणकाे माैका समेत नदिइ कारबाही गरेकाे भन्दै आफूहरुले बैठकमा नाेट अफ डिसेन्ट लेखेकाे कमल थापाले जानकारी दिनुभयाे ।














प्रतिक्रिया दिनुहोस्