हेटौँडा, भदौ ४। वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार आयोजित समारोहमा प्रदेश प्रमुख देवकोटाले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
शपथग्रहण समारोहमा पूर्वमुख्यमन्त्रीहरू डोरमणि पाैडेल, सालिकराम जम्कट्टेल, ईन्द्र बानिया, राजनीतिक दलका नेता, प्रदेशसभा सदस्य, उच्चपदस्थ सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो।
शपथ लिएलगत्तै मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेख्दै आफूले पदसँगै वाग्मती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारीसमेत बोकेको बताउनुभएको छ। उहाँले आफूलाई विश्वास, साथ, शुभेच्छा र हौसला प्रदान गर्ने राजनीतिक नेतृत्व, प्रदेशसभा सदस्य, नेता–कार्यकर्ता तथा आमवाग्मतीवासीप्रति आभार व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले लेख्नुभएको छ, ‘आज मैले एउटा पदको शपथ मात्र लिएको छैन, लाखौँ वाग्मती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारी पनि शिरमा बोकेको छु।’
उहाँले जनताको विश्वासलाई आफ्नो शक्ति र जनअपेक्षालाई मार्गदर्शन बनाएर सुशासन, विकास र सरकारको सेवा प्रवाहलाई जनताले अनुभूति गर्ने गरी अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । ‘तपाईंहरूको विश्वासलाई मेरो शक्ति र जनताको अपेक्षालाई मेरो मार्गदर्शन बनाउँदै सुशासनलाई व्यवहारमा, विकासलाई परिणाममा र सरकारलाई जनताको अनुभूतिमा रूपान्तरण गर्ने दृढ संकल्प गर्दछु,’ उहाँले भन्नुभएको छ।
वाग्मतीको समृद्धि भाषणको विषय नभई साझा कर्म र देखिने परिणामको यात्रा भएको उल्लेख गर्दै उहाँले इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्ने बताउनुभएको छ। ‘वाग्मतीको समृद्धि कुनै भाषणको विषय होइन, हाम्रो साझा कर्म र देखिने परिणामको यात्रा हो, त्यसैले समयको सदुपयोग गर्दै इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्नेछु,’ मुख्यमन्त्री थापा मगरले लेख्नुभएको छ।
उहाँले नागरिकका सुझावलाई सम्मान, खबरदारीलाई मार्गदर्शन र साथलाई शक्तिका रूपमा लिएर सबैलाई साथमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ‘तपाईंहरूको सुझावलाई सम्मान, खबरदारीलाई मार्गदर्शन र साथलाई शक्ति मानेर कसैलाई पछि नछोडी, सबैलाई साथमा लिएर समुन्नत, सुशासित, आत्मनिर्भर र गौरव गर्न लायक वाग्मती प्रदेश निर्माणको पथमा अघि बढ्नेछु,’ उहाँले भन्नुभएको छ।
मुख्यमन्त्री थापा मगरले आफ्नो जिम्मेवारीलाई पद र अधिकारभन्दा जनसेवासँग जोड्नुभएको छ। ‘यो पद मेरो लागि सम्मानभन्दा बढी जिम्मेवारी हो, अधिकारभन्दा बढी कर्तव्य हो र अवसरभन्दा बढी जनसेवाको संकल्प हो,’ उहाँले उल्लेख गर्नुभएको छ।
वाग्मती प्रदेशका हरेक नागरिकको सुख, सम्मान र समृद्धिलाई आफ्नो जिम्मेवारी ठान्दै विश्वासलाई परिणाममा, आशालाई उपलब्धिमा र संकल्पलाई समृद्धिमा बदल्ने यात्रामा अघि बढ्ने उहाँले बताउनुभएको छ।
उहाँले सम्पूर्ण वाग्मती प्रदेशवासीप्रति धन्यवाद तथा नमन व्यक्त गर्दै भन्नुभएको छ, ‘तपाईंहरूको विश्वास कहिल्यै निराश हुन दिनेछैनौँ।’














प्रतिक्रिया दिनुहोस्