जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार १८:१३

बागमती सरकारमा ६ मन्त्री नियुक्त, दुई मन्त्रालय मुख्यमन्त्री किरण थापाकै जिम्मामा 


हेटौँडा, भदौ ४। बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बाहेक आठ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीअनुसार ६ जना मन्त्री नियुक्त हुनुभएकाे छ। नवनियुक्त मन्त्रीहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ६ जना मन्त्री नियुक्त गर्नुभएको हो। प्रदेश प्रमुख देवकोटाले नवनियुक्त सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मुख्यमन्त्री थापा मगरले मन्त्री नियुक्त गर्नुभएको हो। एमालेबाट दुई, नेकपाबाट एक र राप्रपाबाट तीन जना मन्त्री नियुक्त हुनुभएको छ।

नेकपा एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ मन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बन्नुभएको छ।

नवनियुक्त मन्त्रीमध्ये भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ज्ञानबहादुर तामाङलाई हालका लागि विनाविभागीय मन्त्री बनाइएको छ।

त्यस्तै, नेकपाका सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

राप्रपाबाट मन्त्री बन्नुभएका गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री थापा मगरले आफैँसँग राख्नुभएको छ।

यससँगै बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ९ सदस्यीय मन्त्रिपरिषद्को संरचना बनेको छ। दुई मन्त्रालयको जिम्मेवारी भने तत्कालका लागि मुख्यमन्त्री थापा मगरले नै सम्हाल्नुहुनेछ।