जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०८:२१

वाग्मती प्रदेश सरकारले वैधता पाइसक्यो, राप्रपा केन्द्रले गरेको कारबाहीविरुद्ध न्याय खोज्न जान्छौँ : उद्धव थापा


हेटौँडा, भदौ ५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रको नीति विपरीत नेकपा एमाले नेतृत्वको वाग्मती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै कारबाही गरेपछि राप्रपा वाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापाले त्यस विरुद्ध कानुनी उपचार खोज्ने बताउनुभएको छ।

पार्टीले आफूलाई कारबाही गरेको कुरा सुनेको बताउँदै उहाँले निर्णयका विषयमा पार्टीभित्रै पनि व्यापक छलफल भएको र निर्णय गलत भएको भन्दै ‘नोट अफ डिसेन्ट’ समेत लेखिएको जानकारी पाएको बताउनुभयो। उहाँले पार्टीको निर्णय आधिकारिक रूपमा प्राप्त भएपछि त्यस विरुद्ध अदालत जाने र न्याय खोज्ने अधिकार आफूहरूसँग बाँकी रहेको बताउनुभयो। ‘‘पार्टीले एउटा ढङ्गबाट हामीलाई उठायो, कारबाही गर्‍यो, तर त्यसको विरुद्धमा जाने अथवा त्यसलाई न्याय पाउनका लागि न्यायालयमा जाने कुरा बाँकी नै छ,’’ उहाँले भन्नुभयो।

वाग्मती प्रदेशमा राप्रपाको समर्थनबिना सरकार गठन हुन नसक्ने अवस्था बनेपछि आफूहरू करिब एक महिनासम्म अनिर्णयको अवस्थामा रहेको उहाँको भनाइ छ। पार्टीभित्र आफूहरूले निरन्तर आफ्नो धारणा राख्दै आएको र साउन २० गतेको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको उहाँले बताउनुभयो।

अध्यक्षसँग आफूले व्यक्तिगत रूपमा पटक–पटक भेटेर प्रदेशको परिस्थिति र पार्टीको भूमिकाबारे जानकारी गराए पनि अपेक्षित निर्णय हुन नसकेको थापाले बताउनुभयो।

प्रदेश सरकार गठनका लागि ७२ घण्टाको समयसीमा आइसक्दा पनि पार्टीबाट निर्णय नआएपछि वाग्मती प्रदेशलाई अनिर्णयको बन्दी बनाउन नहुने निष्कर्षमा आफूहरू पुगेको उहाँले स्पष्ट पार्नुभयो। संघीयता खारेज हुने विषयमा पार्टीको धारणा रहे पनि राप्रपाकै निर्णयका कारण तत्काल संघीयता खारेज नहुने निष्कर्षमा पुगेपछि प्रदेशमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

संसदीय दलका सदस्यहरूले आफूलाई दलको नेताका रूपमा आफ्ना धारणा प्रतिनिधित्व गर्न आग्रह गरेपछि बैठक बोलाइएको र बहुमत सदस्यले सरकारमा सहभागी हुने निर्णय गरेको थापाले बताउनुभयो। ‘‘म अध्यक्षता गरिरहेको बैठकमा बहुमत सङ्ख्याले सरकारमा गठबन्धन गर्ने अथवा उपयुक्त गठबन्धनसँग समन्वय गरेर सरकारमा जाने निर्णय गरेपछि मैले पनि सही गर्नुपर्ने हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘मेरो अध्यक्षतामा बसेको बैठकले निर्णय गरेपछि हामी सरकारमा सहभागी भएका हौँ।’’

उहाँले आफूले पार्टीको हित विपरीत कुनै काम नगरेको दाबीसमेत गर्नुभयो। पार्टी स्थापनाकालदेखि नै काम गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘आजसम्म मैले कहिल्यै पार्टीको अहितमा काम गरेको छैन, अहिले पनि गरेको होइन र भविष्यमा पनि गर्दिनँ।’’

थापाले आफू अहिले पनि वाग्मती प्रदेशसभा सदस्य तथा संसदीय दलको नेता रहेको दाबी गर्नुभयो। काठमाडौं–८ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेको उल्लेख गर्दै उहाँले बहुमत सदस्यले नहटाएसम्म आफू संसदीय दलको नेताकै भूमिकामा रहने बताउनुभयो।

प्रदेश सरकारको वैधानिकता सुरु भइसकेको उल्लेख गर्दै उहाँले आफू सरकारमा रहेर जनताको सेवा र प्रदेशको विकासमा केन्द्रित हुने बताउनुभयो। राप्रपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले चुस्त, दुरुस्त र स्पष्ट परिणाम दिने गरी काम गर्ने उहाँको भनाइ छ।

भ्रष्टाचारविरुद्ध पार्टीको प्रतिबद्धता दोहोर्‍याउँदै थापाले जनताको सेवामा इमानदारीपूर्वक काम गर्ने बताउनुभयो। आफू यसअघि पनि ४७ दिन मन्त्री भइसकेको उल्लेख गर्दै उहाँले अबको कार्यकालमा निस्फिक्री भएर काम गर्ने बताउनुभयो।

यसैबिच, उहाँले वाग्मती प्रदेश सरकारमा राप्रपाबाट सहभागी हुनुभएका गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई थापाले सफल कार्यकालको शुभकामना दिनुभएको छ। उहाँहरूले प्रभावकारी काम गरेर राप्रपाबाट सरकारमा सहभागी जनप्रतिनिधिले पनि परिणाम दिन सक्छन् भन्ने देखाउने विश्वास व्यक्त गर्नुभएको छ।