जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०८:५०

इमरान खानलाई जेलबाट रातारात अस्पताल लगियो


काठमाडौं, भदौ ५ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई बिहीबार राति रावलपिंडीस्थित अदियाला जेलबाट इस्लामाबादको सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको छ ।

सर्वोच्च अदालतको आदेशपछि स्वास्थ्य उपचारका लागि उहाँलाई जेलबाट अस्पताल लगिएको हो । अदालतले मंगलबार इमरानलाई दुई दिनभित्र अस्पताल लैजान आदेश दिएको थियो ।

अस्पताल पुर्‍याइएपछि भवनका सबै बत्ती निभाइएको र अस्पतालका कर्मचारीले उहाँको मोबाइल फोन नियन्त्रणमा लिएको बताइएको छ । अस्पतालको गेटबाहिर रहेका पत्रकारलाई समेत हटाइएको थियो ।

अदालतले इमरानलाई सेप्टेम्बर १६ सम्म अस्पतालमै राख्न आदेश दिएको बताइएको छ । उहाँका परिवार तथा कानुनी प्रतिनिधिले स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उपचारका लागि निजी अस्पताल लैजान माग गर्दै आएका थिए ।

इमरान खान हाल विभिन्न मुद्दामा जेलमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।