काठमाडौं, भदौ ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यसै वर्ष भेट्ने योजना रहेको बताएको केही घण्टामै उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले बिहीबार साँझ प्योङयाङ वरपरबाट पूर्वी समुद्रतर्फ १० भन्दा बढी छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । ती क्षेप्यास्त्र करिब ३०० किलोमिटर उडेका थिए ।
दक्षिण कोरिया र अमेरिकाबीच वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ सैन्य अभ्यास चलिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई आफ्नोविरुद्धको आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ ।
यसअघि बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले यसै वर्ष किमसँग भेट्ने योजना बनाएको बताउनुभएको थियो । उहाँले किमसँग राम्रो सम्बन्ध कायम राख्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो ।
ट्रम्पको भनाइपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले आपत्कालीन सुरक्षा बैठक बोलाएको थियो । सियोलले प्रक्षेपणलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भन्दै निन्दा गरेको छ ।
यसैबीच, किम जोङ उनकी बहिनी किम यो जोङले किम र ट्रम्पबीच विगतका ‘राम्रा सम्झना’ रहेको बताएकी छन् । यद्यपि अहिले दुई नेताबीच प्रत्यक्ष सम्पर्क भइरहेको जानकारी आफूलाई नभएको उनको भनाइ छ ।
दक्षिण कोरिया र अमेरिकाले क्षेप्यास्त्र प्रक्षेपणबारे थप विश्लेषण गरिरहेको जनाएका छन् । अमेरिकी र दक्षिण कोरियाली सेनाबीचको संयुक्त सैन्य अभ्यास भने यसपटक निर्धारित समयभन्दा करिब एक साता अघि नै शुक्रबार समाप्त गर्ने घोषणा गरिएको छ ।
अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ राखेको छ । कोरियाली युद्ध सन् १९५३ मा युद्धविराममार्फत रोकिए पनि अहिलेसम्म औपचारिक शान्ति सन्धि भएको छैन ।














प्रतिक्रिया दिनुहोस्