हेटौँडा, भदौ ५। वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएको भोलिपल्टै सहिदहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ।
शुक्रबार बिहान हेटौँडास्थित सहिद स्मारक पार्क पुगेर मुख्यमन्त्री थापासहित नवनियुक्त मन्त्रीहरूले सहिदका स्मारकमा फूलमाला तथा पुष्पगुच्छा अर्पण गर्नुभएको हो। कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतको सहभागिता रहेको थियो।

सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि मुख्यमन्त्री थापाले देश र जनताको स्वतन्त्रता, अधिकार, सम्मान तथा उज्ज्वल भविष्यका लागि जीवन अर्पण गर्ने महान् सहिदहरूप्रति हार्दिक नमन गर्नुभएको छ। उहाँले सहिदहरूको बलिदान इतिहासको एउटा अध्याय मात्र नभई राष्ट्र निर्माणको अमिट आधार भएको बताउनुभएको छ। सहिदहरूको त्यागकै कारण नागरिकले स्वतन्त्र रूपमा बाँच्ने, बोल्ने र आफ्नो भविष्य रोज्ने अधिकार प्राप्त गरेको उहाँको भनाइ छ।

मुख्यमन्त्री थापाले सहिदहरूले देखाएको त्याग, साहस र देशभक्तिको बाटो वर्तमान पुस्ताका लागि प्रेरणाको दीप बन्नुपर्ने बताउनुभएको छ। उहाँले सहिदहरूको बलिदानलाई शब्दले मात्र नभई न्यायपूर्ण, समृद्ध र समुन्नत राष्ट्र निर्माणको कर्मबाट सम्मान गर्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “सहिदहरूको सपना हाम्रो संकल्प हो,” मुख्यमन्त्री थापाले भन्नुभएको छ।
महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।














प्रतिक्रिया दिनुहोस्