हेटौँडा, भदौ ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएको कार्यक्रम एक दिन पछि सरेको हो । प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक भदौ ८ गते सोमबारका लागि बोलाएको जनाएको छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता तथा कानुन उपसचिव प्रकाश चापागाईँका अनुसार शुक्रबार जारी गरिएको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ ।
मुख्यमन्त्री थापामगर बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नयाँ सत्ता समीकरणअन्तर्गत नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।
मुख्यमन्त्री थापामगरले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्दै सत्ता साझेदार दलका छ जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्