जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार २१:४७

बागमतीमा पार्टी निर्णय विपरीत मन्त्री बनेका तीन सांसदसँग राप्रपाले माग्यो १२ घण्टे स्पष्टीकरण


काठमाडौं, भदौ ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टी निर्णय र निर्देशन विपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन प्रदेशसभा सदस्यसँग १२ घण्टे स्पष्टीकरण मागेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभा सदस्यहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने’ भन्ने विषयमा १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

राप्रपाका अनुसार पार्टीका संसदीय दलका नेता उद्धव थापाले निजी लेटरप्याड प्रयोग गरी पार्टीको तर्फबाट भन्दै बागमती प्रदेश सरकारलाई समर्थन गर्नुभएको विषयमा यसअघि नै कारबाही गरिएको थियो । पार्टीले थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै उहाँलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको जानकारी गराएको छ ।

पार्टीको निर्णय र निर्देशन विपरीत बागमती प्रदेश सरकारमा मन्त्री पदको शपथ ग्रहण गरेको भन्दै तीन प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागिएको राप्रपाले जनाएको छ ।

पार्टीको निर्णय तथा निर्देशन उल्लङ्घन गरेको पुष्टि भएमा तीनै जनामाथि अनुशासनात्मक कारबाही अघि बढाउने राप्रपाले संकेत गरेको छ । 

उहाँहरु बिहीबार बनेकाे एमालेका किरण थापा मगर नेतृत्वकाे सरकारमा जानु भएकाे छ ।  राप्रपाबाट मन्त्री बन्नुभएका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री  राजु विष्ट उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिलाई स्पष्टिकरण साेधिएकाे हाे । 

यस अघि थापा मगरलाई पार्टी निर्णय विपरित मुख्यमन्त्री बनाउन समर्थन जनाएकाे भन्दै राप्रपाले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेकाे थियाे ।