नारायणगढ, भदौ ६ । वन क्षेत्रमा एक्लै वा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको उच्च जोखिममा रहने गरेको अध्ययनले देखाएको छ। नेपालका तराई क्षेत्रमा सन् २०१० देखि २०२४ सम्म भएका बाघ आक्रमणका घटनाको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, समस्याग्रस्त बाघ विषयमा विद्यावारिधि गर्नुभएका डा. बाबुराम लामिछाने, नेपाल प्रकृति संरक्षण कोषका पूर्वसदस्यसचिव डा. नरेश सुवेदी, वन्यजन्तु अनुसन्धानकर्ता सञ्जय कँडेल, स्विडेनका प्राध्यापक डा. म्याथ्यु लो तथा वन विज्ञान अध्ययन संस्थानका पूर्वडिन प्राडा ठाकुर सिलवालले संयुक्त रूपमा गर्नुभएको अध्ययनले यस्तो देखाएको हो।
अध्ययनअनुसार बाघको आक्रमणबाट हुने मानवीय क्षति मानिस समूहमा भए–नभएको, लिङ्ग, शैक्षिक अवस्था तथा आक्रमणका समयमा मानिसको शारीरिक अवस्थासँग सम्बन्धित रहेको पाइएको छ।
वनमा गरिने जीविकोपार्जनसम्बन्धी गतिविधि बाघ आक्रमणको प्रमुख कारण रहेको अध्ययनले देखाएको छ। अध्ययन अवधिमा भएका २४५ वटा बाघ आक्रमणमध्ये ५४ प्रतिशत घटना दाउरा तथा घाँस सङ्कलनका क्रममा भएका थिए। गैरकाष्ठ वन पैदावार सङ्कलनका क्रममा ११ प्रतिशत तथा पशु चराउने वा हेरचाह गर्ने क्रममा करिब १३ प्रतिशत आक्रमण भएका थिए।
अनुसन्धानकर्ता डा. बाबुराम लामिछानेका अनुसार घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री सङ्कलन गर्दा मानिस प्रायः एक्लै वा निहुरिएर काम गर्ने भएकाले बाघको आक्रमणको जोखिम बढ्ने गरेको छ।
अध्ययनअनुसार बाघको आक्रमणमा परेकामध्ये ५७.६ प्रतिशतको मृत्यु भएको छ। अध्ययन अवधिमा २४५ जनामाथि बाघले आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो।
कुल आक्रमणमध्ये ९० प्रतिशतभन्दा बढी घटना वन क्षेत्रमा भएका थिए। तीमध्ये ६९.४ प्रतिशत घटना संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रमा, २४ प्रतिशत संरक्षित क्षेत्रबाहिर र ६.५ प्रतिशत राष्ट्रिय निकुञ्जभित्र भएका थिए। सन् २०१९ देखि २०२३ सम्म बाँके–बर्दिया क्षेत्र तथा सुदूरपश्चिमका वन क्षेत्रमा बाघ आक्रमण उल्लेख्य रूपमा बढेको अध्ययनले देखाएको छ।
बाघको आक्रमणमा पुरुष बढी पर्ने गरेका छन्। पीडितमध्ये ६५.३ प्रतिशत पुरुष रहेको अध्ययनमा उल्लेख छ। महिलामा भने आक्रमणपछि मृत्यु हुने दर ७२.९ प्रतिशत रहेको पाइएको छ।
अध्ययन अवधिमा प्रतिवर्ष औसत १६ वटा बाघ आक्रमणका घटना भएका थिए। समूहमा वन प्रवेश गर्दा जोखिम कम हुने अध्ययनले देखाएको छ। समूहमा जाँदा सतर्कता बढ्ने तथा आक्रमणको अवस्था आए तत्काल प्रतिकार वा उद्धार गर्न सकिने भएकाले जोखिम कम हुने अनुसन्धानकर्ताहरूको भनाइ छ।
त्यस्तै, आक्रमणका बेला उभिएका वा हिँडिरहेका मानिसको मृत्युको जोखिम बसेका वा निहुरिएका मानिसको तुलनामा कम देखिएको छ।
डब्लूडब्लूएफ नेपालका वन्यजन्तु कार्यक्रम प्रमुख डा. शंशाक पौडेलका अनुसार घाँस वा दाउरा सङ्कलन गर्दा निहुरिएर काम गरिरहेका मानिसलाई बाघले आफ्नो प्राकृतिक आहार मृग, बँदेल वा जरायोजस्तै ठान्न सक्ने भएकाले आक्रमणको सम्भावना बढ्ने गरेको छ। त्यसैले वनमा प्रवेश गर्दा समूह बनाएर जान उहाँले सुझाव दिनुभएको छ।
पछिल्लो समय नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षित क्षेत्रबाहिरका वन, मध्यवर्ती क्षेत्र तथा वन करिडोरमा बाघको आवतजावत पनि बढेको छ। यसले मानिस र बाघबीच द्वन्द्वको सम्भावना बढाएको भन्दै अनुसन्धानकर्ताहरूले बाघ संरक्षणसँगै मानव सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।
डा. लामिछानेका अनुसार अध्ययनले मध्यवर्ती क्षेत्रलाई मानव–बाघ द्वन्द्वको ‘हटस्पट’ का रूपमा पहिचान गरेको छ। यस्ता क्षेत्रमा मानिस र बाघबीच दूरी कायम हुने गरी वन व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ।
वन क्षेत्रमा झाडी तथा अन्डरग्रोथ व्यवस्थापन गरी दृश्यता बढाउने, उच्च जोखिम भएका क्षेत्रमा वन प्रवेशको समय व्यवस्थापन गर्ने, बाघको उपस्थितिबारे तत्काल सूचना दिने प्रणाली विकास गर्ने तथा समुदायमा व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गर्न सके बाघबाट हुने मानवीय क्षति घटाउन सकिने अध्ययनले सुझाव दिएको छ।














प्रतिक्रिया दिनुहोस्