जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०८:४२

जेलेन्स्कीको गृहनगरमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु


काठमाडौं, भदौ ६ । युक्रेनको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन्। घाइतेमध्ये २३ जना बालबालिका छन्। घटनास्थलमा केही मानिस अझै भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार शुक्रबार उक्त सहरमा दुई चरणमा ड्रोन आक्रमण भएको थियो। उनले आक्रमणलाई अत्यन्त निन्दनीय र घृणित घटना भन्दै आलोचना गर्नुभएको छ।

जेलेन्स्कीका अनुसार दोस्रो चरणको आक्रमणमा पहिलो आक्रमणपछि घटनास्थलमा उद्धार तथा राहत कार्यमा खटिएका उद्धारकर्मीलाई समेत लक्षित गरिएको थियो।

बीबीसीका अनुसार जलिरहेको किनमेल केन्द्रमा दोस्रो ड्रोन प्रहार भएको भिडिओ प्रमाणित भएको छ। आक्रमण निप्रोपेट्रोभस्क क्षेत्रमा भएको हो।

निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुख ओलेक्जेन्डर हान्झाले शुक्रबार साँझ मृतकको संख्या १५ पुगेको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

अधिकारीहरूका अनुसार घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको छ। आक्रमणबाट मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। रुसी पक्षबाट घटनाबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन।