जनता टाइम्स

६ भाद्र २०८३, शनिबार १२:५४

एमालेमा अध्यक्ष हटाउने हल्ला बलेसीबाट खसेको पानीको फोकाजस्तै हो : केपी ओली


काठमाडौं, भदौ ६ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको फासीवादतर्फको यात्रालाई रोक्नुपर्ने निश्कर्ष सुनाउनु भएको छ । प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी कुवेतको पाँचौ अधिवेशनलाई शुक्रबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

उहाँले बर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी ढङ्गले चलिरहेको बताउनु भयो । वर्तमान सरकार गठनसँगै गरिब, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूमाथि हमला, ट्रेड युनियनहरूमाथि प्रतिबन्ध, कर्मचारीतन्त्रमा पजनी आतङ्क मच्चाउने लगायत असहिष्णु काम गर्दै अगाडि बढेको बताउनु भयो । उहाँले सरकारको आतंकले सीमा नाघिसकेको भन्दै भन्नुभयो, ‘जनताले पाँचबर्ष जे पनि गर्न पाउने लाइसेन्स दिएका होइनन् भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’

एमाले अध्यक्ष ओलीले मुलुकमा संविधान मिचिएको र लोकतन्त्र अपहरित अवस्थामा पुगेको हुँदा लोकतन्त्र पुनस्र्थापित गर्न र देशलाई कानुनी राजमा फर्काउन प्रतिगमनविरुद्ध सङ्घर्ष राष्ट्रिय आवश्यकता भएको पनि बताउनु भयो । गत बर्षको भदौ २३ र २४ गते नेपाली सभ्यतामा कहिल्यै नभएको विध्वंश भएको र यस घटनाले देशलाई असभ्यता र अपसँस्कृतितर्फ फर्काउनुका साथै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि विग्रिएर लज्जावोधको स्थिति सिर्जना गरेकोे ओलीले बताउनुभयो ।

‘विगतमा सत्ता परिवर्तन, राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तनका लागि भएका कुनै पनि आन्दोलनमा यस्तो विध्वंश भएको थिएन । अहिले सत्ता प्राप्तिका लागि राज्यका तीनै अङ्ग जलाइए, व्यक्ति, दलका नेता-कार्यकर्ताका घर जलाइए, लोकतन्त्रका लागि असाधारण योगदान गरेका नेतामाथि आक्रमण भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले गएको प्रतिनिधि सभा निर्वाचनमा जनता सामाजिक सञ्जालमा आएका बेठीक कुराको बाढीबाट भ्रममा परेका र प्रवासमा रहेका युवाका साथै आम डायस्पोरामा पनि त्यो भ्रम सिर्जना भएको र त्यसलाई चिर्ने काममा कमी रहेको औल्याउँदै प्रवासी नेपाली मञ्चलाई डायस्पोरामा परेको भ्रम चिर्ने काममा विशेष भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले प्रवासी नेपालीलाई ‘सत्यको मार्ग चिनाउने र सत्यको मार्गमा हिँडाउने’ कर्तव्यमा योगदान गर्न आग्रह गर्नुभयो । साथै, उहाँले विदेशमा रहेका नेपालीको व्यवहारबाट नेपाली संस्कृति र सभ्यताको परिचय दिने हुँदा त्यसतर्फ सजग रहन सुझाउनुभयो ।

पार्टीको पुनर्गठनका सन्दर्भमा प्रस्ट पार्दै अध्यक्ष ओलीले असान्दर्भिक र अनुचित रुपमा चलाइएको अध्यक्ष हटाउने हल्ला बलेसीबाट खसेको पानीको फोकाजस्तै हो भन्नुभयो । नेकपा (एमाले) विधिसम्मत चल्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै उहाँले अब बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टी एकताबद्धरुपमा अगाडि बढ्ने बताउनुभयो ।

– लोकतन्त्र पुनस्र्थापित गर्न र देशलाई कानुनी राजमा फर्काउन प्रतिगमनविरुद्ध सङ्घर्ष राष्ट्रिय आवश्यकता
– गतबर्ष भदौ २३ र २४ गते नेपाली सभ्यतामा कहिल्यै नभएको विध्वंशको घटनाले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि विग्रिएर लज्जावोधको स्थिति
– अनेकले पार्टीमा फाटो ल्याउन खोजे पनि त्यो सम्भव छैन, एमाले पहिलेको अवस्थामा फर्कने दरो सामथ्र्य राख्ने पार्टी हो

अध्यक्ष ओलीले आफू पार्टीको महाधिवेशनमा भोटबाट निर्वाचित अध्यक्षमात्र नभई ५७ बर्षअघि पार्टी-संगठन केही नभएको अवस्थामा पार्टी निर्माण, गठन-पुनर्गठन, विस्तार, एकता-एकीकरण गर्दै र भूमिगत, निर्वासित जीवन विताउँदै, जेलनेल यातनामा पनि घुँडा नटेकेर आन्दोलनलाई जोगाउँदै आएको र अहिलेको अन्तर्राष्ट्रिय प्रहारमा पनि पार्टीलाई जोगाउने पार्टीनेतृत्व भएको बताउनुभयो ।

अनेकले पार्टीमा फाटो ल्याउन खोजे पनि त्यो सम्भव नभएको स्पष्ट पार्दै उहाँले एमाले पहिलेको अवस्थामा फर्कने दरो सामथ्र्य राख्ने पार्टी भएको बताउनुभयो । निर्वाचनमा गम्भीर धक्का खाएको अहिलेको परिस्थितिलाई सङ्केत गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘केहीले हरेश खानु बेग्लै कुरा हो, एमालेका कमिटीहरू जस्ताको तस्तै छन्, कार्यकर्ता जहाँको तहीँ छन् । एमालेले पहिलेको अवस्थामा फर्कने दरो सामथ्र्य राख्छ ।’

नेकपा (एमाले) महान् सामाजिक उद्देश्य लिएको पार्टी भएकाले विरोधीहरू तर्सेर यसविरुद्ध आक्रमणमा उत्रिएको बताउँदै पार्टीलाई सबै चुनौतीहरूको सामना गर्दै देशमा कानुनी राजको स्थापना गरी देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने दृढता उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतको पाँचौ अधिवेशन सहमतिका साथ सक्षम नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना दिनुभयो । अधिवेशनमा नेपालबाट सचिव तथा संगठन बिभाग प्रमुख भानुभक्त ढकाल, प्रचार बिभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्च मध्यपूर्वका इन्चार्ज रविन्द्र अधिकारी र केन्द्रीय सदस्य तथा सांसद क्षितिज थेबे अतिथिका रुपमा उपस्थित हुनुभएको छ ।