काठमाडौं, भदौ ७ । अमेरिकाले क्यानडाबाट आयात हुने झण्डै २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि दुई देशबीचको व्यापार तनाव थप चर्किएको छ।
व्यापार सम्झौता गर्ने उद्देश्यले तीन दिनसम्म भएको वार्ता सहमतिमा पुग्न नसकेपछि अमेरिकाले नयाँ भन्सार शुल्क कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नयाँ शुल्क क्यानडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको झण्डै पाँच प्रतिशत सामानमा लागू हुनेछ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा तथा हकी खेलका सामग्रीलगायत वस्तुमा यसको प्रभाव पर्नेछ।
यसअघि नै क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम, मोटरगाडी र काठमा अमेरिकाले भन्सार शुल्क लगाउँदै आएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयलाई गलत कदम भन्दै क्यानडाले पनि अमेरिकी सामानमा जवाफी भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ।
उहाँका अनुसार आगामी सेप्टेम्बर ८ देखि स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि मेसिनरी, कागज तथा विद्युतीय सामग्रीलगायत अमेरिकी सामानमा जवाफी शुल्क लगाइनेछ।
प्रधानमन्त्री कार्नीले वार्ताको अन्तिम चरणमा अमेरिकाले क्यानडाका लागि अन्यायपूर्ण र आर्थिक रूपमा अनुपयुक्त नयाँ सर्त अघि सारेको आरोप लगाउनुभएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले भने वार्ता असफल हुनुमा क्यानडालाई जिम्मेवार ठहराउनुभएको बीबीसीले जनाएको छ।
अमेरिका र क्यानडाबीच लामो समयदेखि जारी व्यापार विवाद पछिल्लो निर्णयसँगै थप चर्किएको छ। ५० प्रतिशत भन्सार शुल्कका कारण क्यानडाली सामान अमेरिकी बजारमा महँगो हुने र त्यसको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्न सक्ने विज्ञहरूले बताएका छन्।
त्यसैगरी, आयातित सामानको मूल्य बढ्दा अमेरिकी उपभोक्तासमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। पछिल्लो व्यापार विवादले दुई देशबीचको व्यापार सम्झौताको भविष्यसँगै अमेरिकी अर्थतन्त्रमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।














प्रतिक्रिया दिनुहोस्