जनता टाइम्स

८ भाद्र २०८३, सोमबार ०७:५७

एआईको प्रयोगबाट विमानको उडानलाई वातावरणमैत्री बनाउने वैज्ञानिकको प्रयास


काठमाडौं, ८ भदौ ८ । विमान उड्दा बन्ने लामो समयसम्म टिक्ने ‘कन्ट्रेल’ अर्थात् बादलजस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलोस्तरमा परीक्षण सुरु गरेका छन् ।

बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन र मेट अफिसलगायत संस्थाको सहकार्यमा अघि बढाइएको ‘अपरेसन ब्लु स्काइज’ कार्यक्रमअन्तर्गत वास्तविक हवाई यातायातमै प्रविधिको प्रभावकारिता र सुरक्षा परीक्षण गरिने भएको हो ।

एआईले मौसम, तापक्रम, आर्द्रता तथा उपग्रहबाट प्राप्त तस्बिरको विश्लेषण गरी लामो समयसम्म टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ । त्यसपछि त्यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराएर कन्ट्रेल बन्ने सम्भावना घटाइनेछ ।

यसअघि सीमित संख्याका उडानमा गरिएको परीक्षणले कन्ट्रेल बन्न सक्ने जोखिम पहिचान गरी विमानको उडान मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो ।

नयाँ अनुसन्धानअन्तर्गत यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरिँदैछ । परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन खपत र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ ।

वैज्ञानिकहरूका अनुसार यस प्रविधिले उड्डयन क्षेत्रबाट हुने समग्र जलवायु प्रभाव घटाउन व्यावहारिक र कम खर्चिलो उपायको बाटो खोल्न सक्छ।