काठमाडौं,भदौ ८ । इरान र अमेरिकाबीचको सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई गति दिन पाकिस्तानका सेना प्रमुख असिम मुनीर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ ।
इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान–पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्द्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढाउनु हो ।
पछिल्लो समय इरान र अमेरिकाबीचको वार्ता कमजोर बन्दै गएको र क्षेत्रीय तनाव पुनः बढिरहेका बेला मुनीरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयासका रूपमा हेरिएको छ ।
पाकिस्तानले पछिल्ला महिनामा इरान र अमेरिकाबीच संवाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ । पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनीरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढी राजनीतिक तथा कूटनीतिक महत्वका साथ हेरिएको छ ।
पछिल्लो समय अमेरिकाले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ भने इरानले त्यस्ता प्रतिबन्ध अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ । हर्मुज जलमार्गमा बढेको तनावका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता बढेको छ ।
पाकिस्तान एकातिर इरानसँगको छिमेकी तथा सुरक्षा सम्बन्ध कायम राख्न चाहन्छ भने अर्कोतर्फ अमेरिका, साउदी अरेबिया र टर्कीसँग पनि रणनीतिक सम्बन्ध विस्तार गरिरहेको छ ।
यही कारण पाकिस्तानले पछिल्लो कूटनीतिक सक्रियतालाई सावधानीपूर्वक अघि बढाइरहेको देखिन्छ । यही पृष्ठभूमिमा सेना प्रमुख मुनीरको तेहरान भ्रमणलाई थप अर्थपूर्ण रूपमा हेरिएको विश्लेषकहरूले बताएका छन्।














प्रतिक्रिया दिनुहोस्