जनता टाइम्स

८ भाद्र २०८३, सोमबार ०८:०७

इरानको चेतावनी : अमेरिकी प्रतिबन्धमा साथ दिए छिमेकी मुलुकलाई पनि नछाड्ने


काठमाडौं, भदौ ८ । इरानले अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्ने आफ्ना छिमेकी मुलुकलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने देशमाथि समेत आर्थिक कारबाही गर्ने चेतावनी दिएपछि इरानले यस्तो प्रतिक्रिया जनाएको हो ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकी दबाबमा सहभागी नहुन छिमेकी मुलुकलाई चेतावनी दिनुभएको हो । उहाँले अमेरिकी प्रयासमा सहभागी भए स्ट्रेट अफ हर्मुज हुँदै खाडी क्षेत्रबाट बाहिरिने तेल ढुवानीका वैकल्पिक मार्गलाई समेत निशाना बनाउन सकिने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै रेजाईले अमेरिकाले इरानको अर्थतन्त्रमाथि दबाब बढाए त्यसको जवाफ दिने दाबी गर्नुभयो । उहाँका अनुसार इरानसँग अझै विभिन्न विकल्प बाँकी छन् ।

उहाँले हालसम्म इरानले अमेरिकी आर्थिक स्वार्थलाई निशाना नबनाएको दाबी गर्दै अमेरिकाले आर्थिक प्रतिबन्ध थप कडा बनाए तेल तथा आर्थिक कम्पनीलाई समेत लक्षित गर्न सकिने चेतावनी दिनुभयो ।

अमेरिकाले गत साता इरानको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यसहित नयाँ अभियान घोषणा गरेको थियो । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने जुनसुकै देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी प्रतिबन्ध र इरानी प्रतिक्रियाका कारण खाडी क्षेत्रमा तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।