काठमाडौं, भदौ ८ । पश्चिम अफ्रिकी राष्ट्र गिनीको राजधानी कोनाक्रीस्थित विशाल ल्यान्डफिलमा फोहोरको थुप्रो भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
रातभर परेको भारी वर्षाका कारण फोहोरको विशाल थुप्रो अचानक भत्किएर नजिकै रहेका पाल तथा छाप्रो पुरिँदा ठूलो मानवीय क्षति भएको रोयटर्सले जनाएको छ ।
स्थानीय समयअनुसार राति करिब २ बजे कोनाक्रीको ग्वेसिया कम्युनमा घटना भएको हो । दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर र १६ जना सामान्य घाइते भएका छन् ।
घटनापछि उद्धारकर्मीले एस्काभेटरलगायत उपकरण प्रयोग गरी फोहोर हटाएर पुरिएका मानिसको खोजी तथा उद्धार गरिरहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार फोहोरको पहिरो यति ठूलो थियो कि त्यसले एउटा अपार्टमेन्ट भवनसहित आसपासका सुकुम्बासी बस्तीसमेत पुरिन सक्ने अवस्था थियो ।
गिनीका क्षेत्रीय प्रशासनमन्त्री जेनाब टुरेले गत बिहीबार मात्र उक्त ल्यान्डफिल असुरक्षित रहेकाले बन्द गरी कोनाक्रीबाहिर फोहोर व्यवस्थापन गर्ने घोषणा गर्नुभएको थियो ।
घटनापछि प्रधानमन्त्री अमादौ ओउरी बाहले आइतबार घटनास्थल पुगेर क्षतिको निरीक्षण गर्नुका साथै उद्धार कार्यको अनुगमन गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्