जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १०:४७

राप्रपाको ह्विपकाबीच वाग्मतीमा किरण थापामगरलाई विश्वासको मतमा सहजता, कति सांसदले तोड्लान् राप्रपाको निर्देशन ?


हेटौँडा, भदौ ८ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एकढिक्का भएर पक्षमा उभिएसँगै राप्रपाभित्रको असहमतिका बाबजुद मुख्यमन्त्री थापामगरले सहजै विश्वासको मत पाउने अवस्था देखिएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापामगरले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मतका लागि एमाले र नेकपाले आफ्ना प्रदेशसभा सदस्यलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । नेकपाका २६ जना प्रदेशसभा सदस्यलाई पक्षमा मतदान गर्न निर्देशन दिइएको छ भने एमालेले पनि आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा उभिन निर्देशन दिएको छ ।

राप्रपाले भने मुख्यमन्त्री थापामगरको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विपमा विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा प्रदेशसभा बैठकमा अनुपस्थित हुनसमेत निर्देशन दिइएको छ ।

तर, राप्रपाभित्रकै समीकरणका कारण उक्त ह्विप पूर्ण रूपमा कार्यान्वयन हुने सम्भावना छैन । सरकारमा सहभागी राप्रपाका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री थापामगरको पक्षमा देखिनुभएको छ । उहाँहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी गरिसक्नु भएको छ । 

राप्रपाका १२ प्रदेशसभा सदस्य रहेकाले पार्टीको ह्विप र सरकारमा सहभागी पक्षबीचको मतभेदले विश्वासको मतको दिन उसको भूमिका चासोको विषय बनेको छ । यद्यपि, एमाले र नेकपाको समर्थनका कारण राप्रपाका सरकारमा सहभागी मन्त्रीले मात्रै मत दिँदा पनि सरकारलाई आवश्यक पर्ने विश्वासको मत पुग्ने छ । हाल कायम रहेको १०४ सदस्सीय प्रदेश सभामा सरकारलाई ५३ मत आवश्यक पर्दछ । नेकपा एमालेका उपसभामुख सहित २५ नेकपाका २६ प्रदेश सभा सदस्य छन् । उपसभामुखले मत हाल्न नपाउने अवस्थामा पनि राप्रपाका ३ मन्त्री र संसदीय दलका नेता थापा मात्रै थपिँदा पनि ५४ मत पुग्छ । जो सरकारलाई पुग्ने विश्वासको मत हो । 

राप्रपाका केही सांसदलाई समेत पक्षमा ल्याउने प्रयास भइरहेको बताइएको छ । सरकार गठनका क्रममा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्र विवाद चर्किएपछि संसदीय दलका नेता उद्धव थापामाथि पार्टी केन्द्रले कारबाही गरिसकेको छ भने सरकारमा सहभागी तीन मन्त्रीलाई समेत स्पष्टीकरण सोधिएको छ । तर थापा माथिको कारबाही कार्यान्वयनमा आइसकेको छैन । 

उता ह्विप जारी गर्ने राप्रपाकी प्रमुख सचेतक तामाङलाई नै सरकार गठन हुनुअघि नै जिम्मेवारीबाट हटाइसकिएको सरकारमा सहभागी खानेपानी मन्त्री राजु विष्टले दाबी गर्नुभएको छ । संसदीय दलका नेता उद्धव थापाले पनि तामाङलाई यसअघि नै प्रमुख सचेतकबाट हटाइएको दाबी गर्दै आउनुभएको छ ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा थापामगर गत भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठनमा साथ दिएका सत्ता साझेदार दलहरू एमाले र नेकपाले विश्वासको मतको पक्षमा स्पष्ट रूपमा ह्विप जारी गरी सकेका र राप्रपाको एउटा पङ्क्ति पनि मुख्यमन्त्री थापामगरको पक्षमा उभिए पछि आवश्यक मत जुट्ने अवस्था बनेको हो ।

राप्रपाको आन्तरिक विवादका कारण केही सांसदले विपक्षमा मतदान गरे वा अनुपस्थित भए पनि एमाले–नेकपाको एकीकृत समर्थन र सरकारको पक्षमा उभिएका राप्रपाका सांसदको मतले सरकारलाई बहुमत पुग्ने देखिन्छ । त्यसैले आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले सहजै विश्वासको मत पाउने अपेक्षा गरिएको छ । राप्रपाका कति सांसदले पार्टीको ह्विप उल्लङ्घन गर्दै सरकारको पक्षमा मतदान गर्छन् भन्ने विषय भने मतदानपछि मात्रै स्पष्ट हुनेछ । यसलाई चासेका साथ हेरिएको छ ।