जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १६:३५

साढे ५२ करोडमा बिक्यो फूटबल लिजेन्ड म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलमा प्रयोग भएको बल


काठमाडौं, भदौ ८ । फुटबल लिजेन्ड डिएगो म्याराडोनाको नाममा रहेको हाते गोल अर्थात ‘ह्याण्ड अफ गड’ नामको ऐतिहासिक बल बिक्रि भएको छ । गत शनिवार अमेरिकाको हेरिटेज अक्सनमा सो बल ३३ लाख अमेरिकी डलर (साढे ५२ करोड रुपैयाँ) मा लिलामी भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।

दिवंगत फूटबल लिजेन्ट म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनल खेलमा इंगल्याण्ड विरुद्धको खेलमा हातले गोल गरेका थिए । तर, रेफ्रीले म्याराडोनाले हेडमार्फत् गोल गरेको ठानेर गोलको मान्यता दिए । सोही कारण खेल अर्जेन्टिनाले २–१ ले जित्यो ।

सो घटनाको बिषयमा खेलपछि पत्रकारहरुसँग कुरा गर्दै म्याराडोनाले ठट्टाको शैलीमा भनेका थिए, ‘त्यो गोल थोरै म्याराडोनाको टाउको र थोरै भगवानको हातबाट भएको थियो ।’ त्यही खेलमा म्याराडोनाले इंगल्याण्डका पाँच जना खेलाडीलाई पालैपालो छक्याउँदै र गोलकिपर पिटर शिल्टनलाई बिट मार्दै अर्को उत्कृष्ट गोल गरेका थिए । जुन गोललाई पछि शताब्दीकै उत्कृष्ट गोलको संज्ञा दिइयो ।

अहिले म्याराडोनाले प्रयोग गरेको त्यही फुटबल २५ लाख पाउण्ड अर्थात करिब साढे ५२ करोड रुपैयाँमा लिलामी भएको छ । गत शनिवार अमेरिकाको हेरिटेज अक्सनमा सो बल ३३ लाख अमेरिकी डलर (२५ लाख पाउण्ड) मा बिक्री भएको छ । ‘ह्याण्ड अफ गड’ नामले चर्चित सो बलको मूल्य १० मिलियन अमेरिकी डलरसम्म पुग्नसक्ने अनुमान गरिएको भएपनि ३३ लाख डदरमै लिलामी भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।

उक्त ऐतिहासिक खेलमा म्याराडोनले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउण्डमा लिलामी भएको थियो । म्याराडोनाको जर्सीभन्दा सो फुटबल ४६ लाख कम पाउण्डमा बिक्री भएको हो

बिश्वकपको सो घटनापछि म्याराडोनाको उक्त हाते गोल ‘ह्याण्ड अफ गड’ नामले विश्व फुटबलमा चर्चित छ । त्यही विवादास्पद गोलका कारण फुटबलको दुनियाँमा अर्जेन्टिना र इंगल्याण्डका खेलाडी, अफिसियल र समर्थकबीच अहिले पनि वादविवाद, घोचपेच चलिरहन्छ । त्यसबेला सन् १९८६ मा ट्युनिसियाका रेफ्री अली बीन नासेरले खेल सकिएपछि उक्त फुटबललाई लिएर गएका थिए । जसलाई तीन दशकसम्म उनले आफूसँगै जतनका साथ राखेका थिए ।

सन् २०२३ मा उनै नासेरले सो खेलमा प्रयोग गरिएको एक मात्र सक्कली फुटबल त्यही भएको पुष्टि गरे । अन्य स्वतन्त्र अनुसन्धान र प्रमाणहरुले पनि सही ठहर्याएका थिए । उक्त ऐतिहासिक खेलमा म्याराडोनले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउण्डमा लिलामी भएको थियो । म्याराडोनाको जर्सीभन्दा सो फुटबल ४६ लाख कम पाउण्डमा बिक्री भएको हो ।