जनता टाइम्स

९ पुष २०७६, बुधबार १४:३४

विमान दुर्घटना हल्ला, प्रहरी पुगेपछि बाहिरियो वास्तविकता


हेटौंडा, पुस ९

बुधबार मध्यान्ह १२ नबज्दै सामाजिक सञ्जालमा एकाएक मकवानपुरमा विमान दुर्घटनाको खबर सामाजिक सञ्जालमा भाइरल बन्यो । समाजिक संजाल प्रयोगकर्ताले कुरै नबुझी भटाभट स्टाटस कपि पेष्ट गर्न थाले । मकवानपुर गढीको सुकौरा र ठिंगनको सिमाना बतासे डाँडामा आगोको मुस्लो देखिएको फोटोसहितका स्टाटसले क्षणभरमै सबैलाई तनाव दियो ।

विमानस्थलका प्रवक्ता र मकवानपुर प्रहरीलाई फोन उठाएर भ्याइनभ्याइ भयो । सबैको चासो एउटै थियो, मकवानपुरमा विमान दुर्घटना भएको हो र ? विमानस्थलका प्रवक्ताले कुनै पनि विमान सम्पर्कभन्दा बाहिर नरहेको र विमान दुर्घटनाको खबर हल्लामात्रै भएको बताउनुभयो ।

प्रहरीले भने घटनास्थल नपुगि थाहा नहुने तर दुर्घटनाको कुनै जानकारी नआएको बतायो । तर प्रहरी खटायो, प्रहरी चौकी चौघडा र ठिंगनबाट प्रहरी घटनास्थल पुगे । त्यहाँ पुगेपछि थाहा भयो जंगलमा ठूलो डढेलो लागेको रहेछ । त्यहि डढेलोका कारण जंगलको बीचमा धुवाँको मुस्लो देखियो र विमान दुर्घटनाको आशंकासहितको खबर भाइरल बन्यो ।

विमान दुर्घटनाकै आशंका किन ?

अहिले भनिएको बतासे डाँडा हवाइ रुट पर्ने स्थान हो । मकवानपुरगढीमा यसअघि पनि विमान दुर्घटना भएको इतिहास छ । सिमरा विमानस्थल जाने विमान यहि रुट हुँदै जान्छन् । त्यतिमात्रै होइन काठमाडौंमा एयर ट्राफिक जाम हुँदा पनि अन्तर्राष्ट्रिय उडान भर्ने विमानले मकवानपुर र बाराका आकाशमा फन्को लगाउँछन् । त्यसैले स्थानीयले विमान दुर्घटनाको आशंका गरेका हुन् । तर वास्तविकता नबुझी हचुवाका भरमा सामाजिक सञ्जालमा फोटो राख्दा भाइरल भएको हो ।