हेटौँडा, भदौ ८ । बागमती प्रदेशसभाको आज बस्ने बैठकको समय पुनः परिवर्तन गरिएको छ । आज दिउँसो १ बजेकोलागि बोलाइएको बैठक दिउँसो ५ बजेका लागि सारिएको थियो । ५ बजे पनि बस्न नसकेपछि बैठक विशेष कारणवश भन्दै राति ८ बजेका लागि सारिएको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले आजै राति ८ बजे बैठक बस्ने गरी नयाँ समय निर्धारण गर्नुभएको प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठकको समय परिवर्तन भएसँगै मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने प्रक्रिया पनि राति ८ बजेपछि अघि बढ्ने भएको छ ।
मुख्यमन्त्री थापामगरलाई विश्वासको मतका लागि सत्तारूढ नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना प्रदेशसभा सदस्यलाई पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । राप्रपाको एउटा पक्षले पक्षमा र अर्को पक्षले विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्विप लगाएको छ ।
सरकार गठन प्रक्रियामा नेकपाका केही सांसदहरूको असन्तुष्टि, राप्रपा भित्रको विवाद लगायतका कारणले बैठक बस्न ढिलो भएको बुझिएको छ ।














प्रतिक्रिया दिनुहोस्