जनता टाइम्स

८ भाद्र २०८३, सोमबार २१:१७

कक्षा १ देखि १२ सम्म यौनशिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग


काठमाडौं, भदौ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले कक्षा १ देखि १२ सम्म व्यापक यौनशिक्षा अनिवार्य गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दर्शनाले बाराको जीतपुरसिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाको सन्दर्भ उठाउँदै विद्यालय तहदेखि नै यौनशिक्षालाई अनिवार्य बनाउन माग गर्नुभएको हो।

आफू सांसदसँगै आमाको हैसियतमा समेत बोलिरहेको उल्लेख गर्दै उहाँले गरिमाको परिवारलाई न्याय दिलाउन सरकारले अघि बढाएको पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले दुई विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो। पहिलो, कक्षा १ देखि १२ सम्मको पाठ्यक्रममा व्यापक यौनशिक्षा अनिवार्य गर्नुपर्ने उहाँको माग छ।

उहाँले भन्नुभयो, ‘हामी सधैँ सेक्स एजुकेसन भन्नेबित्तिकै मुख फर्काउँछौँ, त्यो हटाइयोस्।’

दोस्रो, नेपालको फरेन्सिक अनुसन्धान क्षमता वृद्धि गर्नुपर्ने उहाँले माग गर्नुभयो। घटनास्थलमा पुग्ने प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धिका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ।

महिला तथा बालिकालाई विज्ञापन, कथा र चलचित्रमा यौन वस्तुका रूपमा प्रस्तुत गरिँदासम्म समाजमा उनीहरू सुरक्षित हुन नसक्ने टिप्पणीसमेत सांसद दर्शनाले गर्नुभएको छ।