काठमाडौं, भदौ ८ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले पहिलो जित दर्ता गरेको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। यसअघि खेलेका दुई खेलमा नेपाल ‘ए’ पराजित भएको थियो।
नेपाल ‘ए’ले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिकेन्स एकेडेमी १८.३ ओभरमा ११५ रनमै अलआउट भयो। उसका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाउँदा टिम वार्डले २३ रन जोडे।
नेपालका नारायण जोशीले ३ विकेट लिए। शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिँदा विपिन खत्रीले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रनको योगदान दिए। तृत राज दासले १० रन जोडे।














प्रतिक्रिया दिनुहोस्