काठमाडौं, भदौ ९। बागमती प्रदेशमा सत्तारूढ नेकपाका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज भएको भेटपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन तयार भएका हुन्।
मुख्यमन्त्री थापामगरले विश्वासको मत लिने कार्यसूचीसहित आज दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ। विश्वासको मत लिनुअघि नेकपाभित्र देखिएको असन्तुष्टि समाधानका लागि सांसदहरूले पार्टी संयोजक प्रचण्डसँग छलफल गरेका थिए। भेटमा तीनवटा विषयमा सहमति जुटेको बताइएको छ । राप्रपासँगको सहकार्य, मन्त्रालयको सङ्ख्या र प्रदेश सरकारमा नेकपाको प्रतिनिधित्वका विषयमा छलफल भएको थियो।
राप्रपासँग सरकारमा सहकार्य गर्ने विषयमा पार्टीको केन्द्रीय तहबाटै नीतिगत निर्णय हुनुपर्ने माग उहाँहरूले राख्नु भएको थियो । बागमतीका दलका नेता–उपनेतालाई समेत राखी केन्द्रीय कार्य संयोजन समिति बैठकले नीतिगत निर्णय लिनुपर्ने उहाँहरूको धारणा थियो ।
उहाँहरूले हाल कायम रहेका आठवटा मन्त्रालयको सङ्ख्या थप नगर्ने विषयमा अडान राख्नु भएको थियो। गठबन्धनको ठुलो दलको हैसियतमा नेकपाले एक जना सभामुख र तीन जना मन्त्री पाउने गरी वातावरण बनाउने विषयमा समेत सहमति भएको बताइएको छ ।
प्रचण्डले तत्काल मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिएर सरकारलाई अघि बढाउन र पछि नमिलेका विषय छलफलबाट समाधान गर्दै जान सुझाव दिनुभएको छ ।
हिजोदेखि काठमाडौंमा रहेका नेकपाका सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले आज प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो।
नेकपाका असन्तुष्ट सांसदहरू विश्वासको मतका पक्षमा उभिने भएपछि मुख्यमन्त्री थापामगरलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने वातावरण थप सहज बनेको छ। यद्यपि राप्रपासँगको सहकार्य र सरकारमा सहभागिताको विषयमा आगामी दिनमा थप छलफल हुने देखिएको छ।














प्रतिक्रिया दिनुहोस्